
काठमाडौं, 0२ जुलाई (हि.स.)।नेपालको अध्यागमन विभागले ललितपुरबाट नौ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। ललितपुरको धोबीघाटस्थित एक घरमा ठूलो संख्यामा चिनियाँ नागरिकहरू शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागले बुधबार राति निगरानी तथा खोजतलास अभियान सञ्चालन गरेको थियो।अभियानका क्रममा धोबीघाटस्थित घरबाट तीन जना तथा चोभार क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न अन्य छ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ। अनुसन्धानका लागि १८ वटा चिनियाँ राहदानी (पासपोर्ट) पनि जफत गरिएको छ।प्रारम्भिक अनुसन्धानबाट धोबीघाटस्थित चारतले घरमा २९ जना चिनियाँ नागरिक बसोबास गर्दै आएको खुलेको छ। विभागको टोली त्यहाँ पुग्दा ११ पुरुष र ११ महिला गरी २२ जना चिनियाँ नागरिक भेटिएका थिए। तीमध्ये चार जना व्यावसायिक (बिजनेस) भिसा र १८ जना पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएको पाइएको छ।सबैसँग वैध भिसा भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी प्रस्तुत गरेका थिए। बाँकी चार जनाले आफ्नो राहदानी भिसासम्बन्धी प्रक्रियाका लागि वकिलकहाँ रहेको बताएका थिए। त्यसपछि अनुसन्धानका लागि १८ वटा राहदानी जफत गरिएको हो।अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, उक्त घर ड्रागन ब्रिज इन्टरनेशनल नामक कम्पनीले भाडामा लिएको थियो।अनुगमनका क्रममा उक्त भवनलाई छात्रावास (होस्टेल) भनिए पनि त्यहाँ होस्टेल सञ्चालनसँग सम्बन्धित कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला परेन। अनुसन्धानमा पुरुष र महिलालाई एउटै आवासमा राखिएको पनि देखिएको छ। आफूलाई होस्टेल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बस्ने विदेशी नागरिकहरूको कुनै अभिलेख वा विस्तृत विवरण उपलब्ध थिएन।प्रारम्भिक अनुसन्धानअनुसार अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल बस्दै चोभारस्थित ट्रेजर्स प्रालि र ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग सम्बन्धित काममा संलग्न रहेको पाइएको छ। प्रवक्ता ढकालले उनीहरू भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको बताए। उनका अनुसार, उक्त घर सुमन कार्कीको स्वामित्वमा रहेको र ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा सञ्चालन गरिरहेको छ।भारतीय आयुर्वेदिक उत्पादनहरूको प्रदर्शनी केन्द्रका रूपमा सञ्चालन भइरहेको ट्रेजर्स प्रालिको भवनमा अत्यधिक सुरक्षा व्यवस्था गरिएको पाइएको छ। त्यहाँ ठूलो संख्यामा सीसीटीभी क्यामेरा, निजी सुरक्षा गार्ड तथा सर्वसाधारणको प्रवेशमा पूर्ण प्रतिबन्ध रहेको देखिएको छ।अनुगमनका क्रममा त्यहाँ करिब १८ जना चिनियाँ नागरिक कार्यरत भेटिएका थिए, जसमध्ये अधिकांश पर्यटक भिसामा रहेका थिए। कम्पनीले कर्मचारीहरूको अभिलेख उपलब्ध गराएन भने राहदानी र परिचयपत्र देखाउन पनि अस्वीकार गरियो। कर्मचारीहरूलाई कम्पनीको वास्तविक सञ्चालकबारे समेत जानकारी थिएन। भवनभित्र फोटो तथा भिडियो खिच्न पनि निषेध गरिएको थियो।विभागका अनुसार, भवनका विभिन्न कोठामा “टुरिस्ट प्रोहिबिटेड” लेखिएका स्टिकर टाँसिएका थिए। साथै, निजी संस्थाले प्रयोग गर्ने प्रवेश कार्डमा नेपालको राष्ट्रिय प्रतीकसमेत प्रयोग गरिएको पाइएको छ।अनुगमनका क्रममा सीसीटीभी डेटा कक्षसँग जोडिएको झ्यालविहीन अँध्यारो कोठा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा भेटिएको थियो, जहाँ सात जना चिनियाँ नागरिक लुकेर बसेका थिए। तीमध्ये पाँच जनालाई नियन्त्रणमा लिइएको छ भने दुई जना फरार भएका छन्।प्रवक्ता ढकालका अनुसार, प्रारम्भिक अनुसन्धानमा केही चिनियाँ नागरिक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। अनुसन्धानले धोबीघाटस्थित आवास र चोभारस्थित ट्रेजर्स प्रालिबीच प्रत्यक्ष सम्बन्ध रहेको पनि देखाएको छ। होस्टेल सञ्चालक कर्मा शेर्पा र मञ्जु लामाले त्यहाँ बस्ने अधिकांश चिनियाँ नागरिक ट्रेजर्स प्रालिमा कार्यरत रहेको स्वीकार गरेका छन्। यसबाट धोबीघाटस्थित घर उनीहरूको आवासीय केन्द्र तथा चोभारस्थित कम्पनी कार्यस्थलका रूपमा प्रयोग भइरहेको स्पष्ट भएको विभागले जनाएको छ।विभागले यसअघि पनि यही घरबाट विदेशी नागरिकद्वारा धार्मिक गतिविधि सञ्चालन गरिएको घटना सार्वजनिक भएको जानकारी दिएको छ। प्रवक्ता ढकालका अनुसार, करिब एक वर्षअघि यही स्थानबाट चार जना इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएर तीन वर्षका लागि नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै निष्कासन गरिएको थियो।