
काठमाडौं, 0२ जुलाई (हि.स.)। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगमका अनुसार, नयाँ मूल्य बुधबार राति १२ बजीदेखि लागू भएको हो।
नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २० रुपियाँ घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपियाँले कम गरिएको छ। त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपियाँ घटाइएको छ भने अन्तरराष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ।
यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिग्यास सिलिन्डर १०० रुपियाँले घटाइएको छ। यद्यपि, अन्तरराष्ट्रिय हवाई इन्धनको पोखरा र भैरहवा बिक्री मूल्य भने ब्रेक-इभन बिन्दुमै यथावत् राखिएको छ।
नयाँ दरअनुसार, अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १९७ रुपियाँमा खरिद गर्न सक्नेछन् भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपियाँ कायम गरिएको छ।
त्यसैगरी, १४.२ किलोग्रामको एलपी ग्यास सिलिन्डरको मूल्य २,०६० रुपियाँ तथा ७.१ किलोग्रामको सिलिन्डरको मूल्य १,०३० रुपियाँ निर्धारण गरिएको नेपाल आयल निगमले जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल