
हुगली, 21 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसको 21 जुलाई, शहीद दिवस कार्यक्रम हुन अगावै हुगलीको चुँचुड़ाबाट पूर्व विधायक एवं तृणमूल कङ्ग्रेसका नेता असित मजुमदारलाई पुलिसले मङ्गलवार पक्राउ गऱ्यो।
जानकारी अनुसार मङ्गलवार बिहान पुलिसको एक टीम असित मजुमदारको घरमा पुग्यो अनि उनलाई जाँचबुझ गर्नको लागि चुँचुड़ा थानामा लिएर गयो। कैयौं घण्टासम्म जाँचबुझ गरेपछि उनलाई पक्राउ गरियो। पक्राउ पश्चात उनको स्वास्थ्य परीक्षण गराइयो, त्यसपछि पुनः थानामा लगियो।
पक्राउपछि असित मजुमदारले संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै भने, के भन्नु... यी सबै मेरो भाग्यको दोष हो।
असित मजुमदारका समर्थकहरूले दाबी गरे, उनलाई पहिला 21 जुलाईमा कोलकातामा आयोजित तृणमूल कङ्ग्रेसको शहीद दिवस कार्यक्रममा सामेल हुनदेखि रोक्नका लागि पहिला थानामा बोलाइयो, त्यसपछि अर्को मामिलामा उनलाई पक्राउ गरियो। पुलिसले सुनियोजित ढङ्गमा यो कारबाही गरेको थप आरोप समर्थकहरूले लगाए।
यता पुलिसको भनाइ छ, केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)- का अधिकारी भएर असित मजुमदारको घरमा गएको, धम्की दिएको तथा पैसा मागेको आरोपमा हावड़ाबाट एकजना युवकलाई पक्राउ गरिएको छ। सोही मामिलामा आरोपीलाई चिन्हित गर्नको लागि असितलाई थानामा बोलाइएको थियो। त्यसपछि उनीविरूद्ध पहिलाबाटै दर्ता अर्को एउटा मामिलामा उनलाई पक्राउ गरियो।
उल्लेखनीय छ, यसअघि गत 31 मईमा पनि असित मजुमदारलाई पुलिसले सरकारी काममा बाधाद दिएको, रङ्गदारी तथा अश्लील कृत्य सहित धेरै वटा आरोपहरूमा पक्राउ गरेको थियो। 19 दिनसम्म जेलमा बसेपछि उनी जमानतमा रिहा भएका थिए। जेलमा छँदै उनलाई हुगली जिल्ला तृणमूल कङ्ग्रेसको अध्यक्ष नियुक्त गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा