
गुवाहाटी, 26 जुलाई (हि.स.)। असममा बाढ़ीको कारणले ज्यान गुमाउनेहरूको सङ्ख्या अहिलेसम्म 66 पुगेको भए पनि 4 जना मानिसहरू अहिले पनि बेपत्तै छन्।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, बेपत्ता मानिसहरूको खोजी जारी छ। त्यसैले मृतकहरूको सङ्ख्या बढ़ेर 70-75 पुग्नसक्छ। मुख्यमन्त्रीले आज एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिेए।
उनले बताए, राज्यका सबै बाढ़ी प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ अभियान सफलतापूर्वक सञ्चालन गरिसकिएको छ। तथापि अहिले पनि 25 हजार परिवार बिजुली आपूर्तिदेखि वञ्चित छन्। उनले भने, प्रभावित क्षेत्रहरूमा चाँड़ै विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको छ।
मुख्यमन्त्रीले बताए, सरकारले एक सातासम्म पुग्ने हिसाबले प्रत्येक परिवारलाई एउटा-एउटा राहत किट तयार पारेको छ जसबाट राहत सामग्री वितरण गर्न सहज हुनेछ। उनले भने, राहत सामग्री लगातार रूपमा बाढ़ी प्रभावितहरूलाई उपलब्ध गराइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा