
गान्तोक, २१ जुलाई (हि.स.)। नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदुङमा निर्माणाधीन एनएचपीसी टिस्टा चरण-६ जलविद्युत् परियोजनाको सुरुङमा भएको दुःखद घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग टेलिफोनमार्फत् कुराकानी गर्दै घटनाको अवस्था तथा जारी उद्धार अभियानबारे जानकारी लिएका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्रधानमन्त्री मोदीले प्रभावित श्रमिक तथा उनीहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै भारत सरकारका तर्फबाट आवश्यक पर्ने हरसम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिएको बताएका छन्। मुख्यमन्त्रीले प्रधानमन्त्रीको चिन्ता, संवेदनशीलता र सहयोगको प्रतिबद्धताले यस कठिन घडीमा सिक्किमवासीलाई ठूलो मनोबल र भरोसा प्रदान गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीका अनुसार, राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए), जिल्ला प्रशासन, स्थानीय पुलिस, रम्फू प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) का स्वास्थ्यकर्मी तथा स्थानीय समुदाय उद्धार अभियानलाई सफल बनाउन र प्रभावितहरूलाई आवश्यक सहयोग पुर्याउन आपसी समन्वयका साथ निरन्तर खटिरहेका छन्।
मुख्यमन्त्री तामाङले सिक्किमवासीका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीप्रति हार्दिक आभार व्यक्त गर्दै दुःखको यस घडीमा देखाएको साथ, चिन्ता र ऐक्यबद्धताप्रति कृतज्ञता प्रकट गरेका छन्। साथै, उनले प्रधानमन्त्रीको निरन्तर मार्गदर्शन तथा भारत सरकारको सहयोग र प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै सिक्किम सदैव आभारी रहने बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल