समरदुङ सुरुङ घटनामा मृत्यु हुनेका परिवार 4 लाख र घाइतेहरूलाई 50 हजार अनुदान दिइने
मुख्यमन्त्रीले समरदुङमा उद्धार कार्यको जायजा लिॅंदै


नाम्ची, 21 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज समरदुङमा एनएचपीसी टिस्टा स्टेज 6 जलविद्युत परियोजनाको भ्रमण गरेर सुरुङमा भएको घटना र चलिरहेको उद्धार कार्यबारे जानकारी लिएका छन्। उक्त घटना 20 जुलाई दिउॅंसो लगभग एक बजी भएको हो। यस घटनामा मृतकहरूको संख्या 10 पुगेको छ।

कथित मिथेन ग्यासको चुहावटपछि प्ररियोजनाका अधिकारीहरूसहित लगभग २५ जना श्रमिकहरू सुरुङभित्र फसेको बताइएको छ। भ्रमणको क्रममा राज्यपाल र मुख्यमन्त्रीलाई नाम्ची जिल्लाका जिल्लापाल, वरिष्ठ पुलिस अधीक्षक, एनएचपीसी अधिकारीहरू र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूले घटनाको परिस्थिति, जारी उद्धार कार्य र प्रभावित व्यक्तिहरूलाई उपलब्ध गराइने चिकित्सा उपचारको बारेमा जानकारी दिए।

यसैगरी, एनडीआरएफ दोस्रो बटालियन, कोलकाताका कमान्डेन्ट मनीष कुमार रञ्जनले उद्धार कार्यको स्थिति र प्रगति, यसको कार्यान्वयन र सुरुङ भित्र फसेका श्रमिकहरूलाई फिर्ता ल्याउनका चुनौतीहरूको बारेमा पनि जानकारी दिए।

राज्यपाल र मुख्यमन्त्रीले अधिकारीहरूसँग अन्तरक्रिया गरे र घाइते श्रमिकहरूको लागि उत्तम चिकित्सा हेरचाह र सहयोग सुनिश्चित गर्न हर सम्भव उपायहरू गर्न निर्देशन दिए। उनीहरूले उद्धार कार्यको प्रगतिको पनि समीक्षा गरे तथा सबै औद्योगिक र पूर्वाधार परियोजना स्थलहरूमा सुरक्षा प्रोटोकलहरूको कडा पालनाको महत्त्वमा जोड दिए।

उनीहरूले एनएचपीसीका अध्यक्ष र प्रबन्ध निर्देशक भूपेन्द्र गुप्तालाई पीडितहरूलाई चाँडोभन्दा चाँडो क्षतिपूर्ति वितरण गर्ने कुरा सुनिश्चित गर्न निर्देशन दिए। सिक्किम सरकारले प्रत्येक मृतक श्रमिकका परिवारलाई ४ लाख रूपियाँ अनुदान दिने घोषणा गरेको छ भने प्रत्येक घाइतेलाई तत्काल आर्थिक राहतस्वरुप ५० हजार रूपियाँ दिने घोषणा गरेको छ।

राज्यपाल र मुख्यमन्त्रीले संकट प्रबन्धनमा अटल प्रतिबद्धताका लागि जिल्ला प्रशासन, उद्धार टोली, स्वास्थ्यकर्मी, एनएचपीसी अधिकारीहरू र आपतकालीन प्रतिक्रियामा संलग्न अन्य सबै निकायहरूको द्रुत र समन्वयात्मक प्रयासको पनि प्रशंसा गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande