
कोलकाता, 22 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारकी महिला एवं शिशु कल्याण तथा शहरी विकास मन्त्री अग्निमित्रा पालले बुधवार कोलकाताको कलेज स्ट्रीट एवं पार्क स्ट्रीट क्षेत्रको दौड़ाह गरी फुटपाथमा भएको अवैध अतिक्रमणको जायजा लिइन्। उनले फुटपाथमा पसल राख्ने तथा पसलका सामानहरू सड़कसम्म फैलाउने व्यापारीहरूसित बातचित गरी उनीहरूलाई नियम पालन गर्ने सल्लाह दिइन्।
मन्त्री अग्निमित्रा पालले पसलेहरूलाई भनिन्, उनीहरूले थोरै भए पनि नैतिकता देखाएर पैदल हिँड़्ने मानिसहरूलाई फुटपाथमा पर्याप्त ठाउँ छोड़िदिउन्। उनले भनिन्, एकातिर फुटपाथमा अस्थायी पसल राखिरहेको छ भने अर्कोतिर केही स्थायी पसलहरूले तिरपाल टाङ्गेर वा सामानहरू फैलाएर आफ्नो पसलको घेरा फुटपाथसम्म बढ़ाइरहेका छन्। यो व्यवस्था कुनै पनि स्थितिमा स्वीकार छैन।
उनले स्पष्ट पारिन्, फुटपाथलाई सर्वसाधारण मानिसहरूलाई हिँड़्न सहज होस् भनेर बनाइएको हो, व्यापार गर्नको लागि होइन। त्यसैले फुटपाथलाई अतिक्रमण मुक्त राख्नु सबैको जिम्मेवारी हो।
पत्रकारहरूसित बातचित गर्दै मन्त्रीले बताइन्, मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशमा दुर्गा पूजासम्मको लागि अतिक्रमण हटाउने कारबाहीलाई रोकिएको छ ताकि चाड़ पर्वमा व्यापारीहरूलाई कुनै पनि प्रकारको समस्या नहोस्। तथापि उनले स्पष्ट शब्दमा भनिन्, यो राहत अस्थायी हो।
अग्निमित्रा पालले अझ भनिन्, दुर्गा पूजापछि राज्यमा फुटपाथबाट अवैध कब्जालाई हटाउने अभियानलाई तीव्र गतिमा अगाड़ि बढ़ाइनेछ। मानिसहरूलाई हिँड़्नका लागि सुरक्षित अनि खुल्ला फुटपाथ उपलब्ध गराउनु सरकारको प्राथमिकता हो। अवैध अतिक्रमणविरूद्ध नियमानुसार कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा