जाँजी नदीको भत्किएको बाँधमा बसिरहेका किसानको पीड़ा छल्कियो, भने-म दश वर्ष पछाड़ि पुगेँ
जाँजी नदीको भत्किएको बाँधमा बसिरहेका किसानको पीड़ा छल्कियो, भने-म दश वर्ष पछाड़ि पुगेँ


जोरहाट (असम), 22 जुलाई (हि.स.)। माथिल्लो असमको जोरहाट जिल्लान्तर्गत टियकमा बाढ़ीको प्रकोप केही हदसम्म कम भए पनि स्थिति अहिले पनि पूर्ण रूपमा सामान्य हुन सकेको छैन। केही बाढ़ी प्रभावित परिवारहरू अहिले पनि बाँध तथा अस्थायी आश्रय स्थलहरूमै दिन बिताउन बाध्य छन्।

अर्कोतिर धनतुला क्षेत्रमा जाँजी नदीको भत्किएको बाँधले अहिले पनि सबैलाई चिन्तित बनाएको छ। बाढ़ी आउँदा भत्किएको भागबाटै नदीको पानी पसेर व्यापक नोक्सान पुऱ्याएको छ। किसानहरूको जमीन, जनावर, घरेलु सामान, सर्वस्व पानीमा बगिसकेको छ।

यसबीच धनतुला क्षेत्रमा जाँजी नदीको भत्किएको बाँधको एक भागमा आश्रय लिएर बसेका एकजना किसानले बुधवार मीडिया समक्ष आफ्नो पीड़ा पोखाउँदै रून थाले। तिनले बताए, यसपालिको बाढ़ीले तिनलाई 10 वर्ष पछाड़ि धकेलिदिएको छ। उनीहरूको घर, सामान, गाईवस्तु सबै नै बाढ़ीको पानीले बगायो।

अचानक आएको बाढ़ीको विभिषिकालाई सम्झँदै किसानले भने, बाँध भत्किनसाथ पानी द्रूत गतिमा घरभित्र पस्यो। घरबाट सामानहरू निकाल्ने अवसर समेत पाइएन। कसो गरेर एउटा पलङ, केही कपड़ा, भान्सा ग्यास, बाख्रा, हाँस मात्र लिएर घरदेखि बाँधमा आयौं। घटनालाई सम्झदाँ आकाशतिर हेर्दै मनमा उठेका पीड़ालाई लुकाउने प्रयास गरेको देखियो। यस्तै स्थिति अन्य बाढ़ी प्रभावित ग्रामीणहरूको पनि देख्न पाइयो।

मानिसहरू अनुसार जलसंसाधन विभाग औ ठेकादारको अदेखाले गर्दा यस्तो स्थिति उत्पन्न भएको हो। त्यसैले लामो अवधिको योजना अन्तर्गत आधुनिक तकनिकले यस बाँधको चाँड़ोभन्दा चाँड़ो मरम्मत गर्ने अनि मानिसहरूको जीवनलाई स्थिर बनाउने अपील सरकारसित गरिएको छ।

यद्यपि प्रशासनको पक्षबाट पहिलाबाटै खाद्य सामग्रीहरू आपूर्ति भइरहेको भए पनि यो वर्तमानमा पर्याप्त नरहेको स्थानीयहरूको भनाइ छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande