
शिवसागर, 22 जुलाई (हि.स.)। माथिल्लो असममा बाढ़ीको भयावह स्थितिबीच असम सरकारका मन्त्री बिमल बोराले गए मङ्गलवार अबेर राती लगभग 2 बजे बेतबारीको बाढ़ी प्रभावित क्षेत्रमा पुगेर प्रभावित मानिसहरूको स्थिति बारे जानकारी लिए।
मन्त्रीले बाढ़ी पीड़ितहरूमाझ खाद्य सामग्री सहित अन्य आवश्यक राहत सामग्री वितरण गरे। यस अवधि मन्त्रीले पीड़ितहरूलाई हरसम्भव सहयोग पुऱ्याउने भरोसा पनि दिलाए।
अविरल वर्षा अनि बाढ़ीको कारणले सम्पूर्ण शिवसागर जिल्लाको अवस्था अहिलेघरि गम्भीर भएको छ। यहाँका कतिपय क्षेत्रहरूमा घर, सड़क एवं कृषिभूमि पानीमा डुबेका छन्। गौरीसागरमा राष्ट्रिय राजमार्ग-37 माथि नै बाढ़ीको पानी बगिरहेको छ जसबाट माथिल्लो र तल्लो असमबीच सड़क मार्ग कुनै पनि समय बाधित हुनसक्छ।
शिवसागर जिल्लाको मोराजार मौजा र जकाइचुक मौजाका 50 भन्दा अधिक गाउँहरू बाढ़ीको चपेटमा परेका छन्। प्रभावित क्षेत्रहरूमा राहत एवं बचाउ कार्य निरन्तर भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा