
गान्तोक, 22 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रिय जनजातीय मामिला राज्यमन्त्री दुर्गादास उइकेसँग शिष्टाचार भेट गर्दै गेजिङ जिल्लाको देन्ताममा प्रस्तावित सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) स्थापना गर्न आर्थिक सहयोगको लागि आग्रह गरे। उक्त जानकारी सांसद सुब्बाको कार्यालयले आज एक प्रेस विज्ञप्तिमा दिएकाे छ।
भेटका क्रममा सांसद सुब्बाले देन्ताम भारत-नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित रहेको उल्लेख गर्दै त्यहाँको दुर्गम भूगोल र भौगोलिक कठिनाइका कारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न स्थानीयवासीले ठूलो समस्या भोग्नुपरेको जानकारी गराए। उनले प्रस्तावित सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएपछि स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय सुधार हुने, आकस्मिक चिकित्सा सेवामा पहुँच बढ्ने तथा सीमावर्ती क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।
उनले प्रस्तावित सामुदायिक स्वास्थ्य केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा पेश गरिसकिएको जानकारी पनि गराए। उनले परियोजनाको शीघ्र कार्यान्वयनका लागि जनजातीय मामिला मन्त्रालयअन्तर्गत उपयुक्त योजनामार्फत आर्थिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरे।
राज्यमन्त्री दुर्गादास उइकेले सांसद सुब्बाको प्रस्ताव ध्यानपूर्वक सुनेका थिए। पश्चिम सिक्किमको रणनीतिक रूपमा महत्त्वपूर्ण सीमावर्ती क्षेत्रमा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रस्तुत उक्त प्रस्तावप्रति सकारात्मक निर्णय हुने अपेक्षा सांसद सुब्बाले व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल