
गुवाहाटी, 22 जुलाई (हि.स.)। विश्व धरोहर स्थल काजीरङ्गा राष्ट्रिय उद्यानमा बाढ़ीको स्थिति लगातार गम्भीर बन्दै गइरहेको छ। ब्रह्मपुत्रको बढ़्दो जलस्तरबाट उद्यानको विशाल क्षेत्र जलमग्न भएको छ भने आठ वटा वन शिविरहरू पूर्ण रूपमा पानीमा डुबिसकेका छन्।
बितेका केही दिनदेखि जारी वर्षा अनि नदीहरूको जलस्तर बढ़ेका कारण उद्यानभित्र द्रूत गतिमा पनी भरिरहेको छ। वन शिविरहरू पानीमा डुबेका भए पनि वनकर्मीहरूले बाढ़ी बीचमै बसेर गस्ती तथा निगरानीको कार्यलाई लगातार जारी राखेका छन्।
बाढ़ीको पानीदेखि बच्नका लागि हात्ती, एक सिङ्गे गैंड़ा, हिरण सहित विभिन्न वन्यजीवहरू सुरक्षित स्थानको खोजीमा कार्बी आङ्गलोङ्गका पहाड़हरू तर्फ पलायन भइरहेका छन्। वन्यजीवहरूको सुरक्षित आवागमनलाई सुनिश्चित गर्नको लागि उद्यान प्रशासनले राष्ट्रिय राजमार्ग-715 संलग्न विशेष वन्यजीव हिँड़डुल गर्ने गल्लीहरूमा ब्यारिकेड लगाइदिएको छ।
राजमार्गमा वन्यजीवहरूको सुरक्षित आवात-जावतलाई मध्यनजर गर्दै वाहनहरूको गतिलाई नियन्त्रित गरिएको छ। वाहन चालकहरूलाई मन्द गति तथा सतर्कताको साथमा वाहन हाँक्ने सल्लाह दिइएको छ। अर्कोतिर वन्यजीवहरूको सुरक्षा अनि शिकारका घटनाहरूलाई रोक्नका लागि वन विभागले नौकाहरूको माध्यमबाट विशेष गस्तीलाई तीव्रता दिनको साथै सम्पूर्ण क्षेत्रमा कड़ा निगरानी राखिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा