स्वतन्त्रता दिवस समारोहलाई भव्य बनाउने तयारी, विद्यालयका प्रतिनिधिहरूसँग सभा सम्पन्न
I day preparation meeting


खरसाङ, 22 जुलाई (हि.स.)। आगामी 80औँ स्वतन्त्रता दिवस समारोहलाई सभ्य, व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ स्वतन्त्रता दिवस समारोह आयोजक समिति, खरसाङको आयोजनामा बुधवार खरसाङ टाउन कमिटी हलमा एक महत्वपूर्ण सभा सम्पन्न भएको छ।उक्त सभामा खरसाङ क्षेत्रका सम्पूर्ण विद्यालय तथा शैक्षिक संस्थाका शिक्षक-शिक्षिका र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रह्यो।

सभाको मुख्य उद्देश्य विगतका वर्षहरूमा स्वतन्त्रता दिवस समारोह आयोजना गर्दा देखिएका कमी–कमजोरीहरूको समीक्षा गर्दै ती कमजोरीहरूलाई सुधार गरी यस वर्षको समारोहलाई अझ प्रभावकारी, अनुशासित, समावेशी तथा भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल गर्नु रहेको थियो।

सभामा सहभागी विद्यालयका प्रतिनिधिहरूले परेड व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको सहभागिता, समय व्यवस्थापन, सरसफाई, सुरक्षा, ट्राफिक व्यवस्थापन, पुरस्कार वितरण, कार्यक्रम सञ्चालन लगायत विभिन्न पक्षमा महत्वपूर्ण सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए।

सहभागीहरूले समारोहलाई सम्पूर्ण खर्साङवासीको साझा पर्वका रूपमा मनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। सभामा आयोजक समितिका अध्यक्ष गोविन्द छेत्री, उपाध्यक्ष सुरेन कटवाल, सचिव रामकृष्ण शर्मा, सह–सचिव निशान सुनुवार, कोषाध्यक्ष विनय प्रसाद, सल्लाहकार आरबी लामा तथा राजेश गजमेरसहित समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभाको अध्यक्षता जोगेन्द्र प्रसादले गरेका थिए।

उनले स्वतन्त्रता दिवस केवल औपचारिक कार्यक्रम नभई राष्ट्रप्रतिको सम्मान, राष्ट्रिय एकता र देशभक्तिको भावनालाई सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस वर्षको समारोहलाई खरसाङको इतिहासमै उदाहरणीय र स्मरणीय बनाउने गरी सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

सभामा आयोजक समितिले यस वर्षको स्वतन्त्रता दिवस समारोहलाई विगतका वर्षहरूको तुलनामा फरक, अझ व्यवस्थित, अनुशासित तथा बृहद् रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसका लागि विद्यालय, सामाजिक संघ–संस्था, सरकारी कार्यालय, विभिन्न संगठन तथा सम्पूर्ण खर्साङवासीको सक्रिय सहभागिता र सहयोग रहने विश्वास समितिले व्यक्त गरेको छ।बसमितिका अनुसार आगामी स्वतन्त्रता दिवस समारोहलाई खरसाङको गौरव र राष्ट्रिय एकताको सन्देश झल्किने गरी विशेष तयारीकासाथ सम्पन्न गरिनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande