
नाम्ची, 22 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङ, झोलुङ्गेमा एनएचपीसी टिस्टा चरण-६ जलविद्युत् परियोजनाको सुरुङभित्र खोज तथा उद्धार कार्य आज बिहानदेखि पुनः शुरु गरिएको छ। सुरुङभित्र ठूलो परिमाणमा हिलो र पानी जमेकाले केही समयका लागि उद्धार कार्य स्थगित गरिएको थियो।
सुरुङबाट हिजोसम्म १२ जनाको शव फेला पारिएको थियो। तर, सुरुङभित्रको प्रतिकूल अवस्थाका कारण उद्धार टोलीहरूले कार्यलाई निरन्तरता दिन सकेका थिएनन्।
आज बिहानैदेखि राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) र आसनसोल रेस्क्यु टोलीका सदस्यहरूले पूर्ण प्रतिबद्धताका साथ उद्धार कार्य पुनः शुरु गरेका छन्।
पछिल्लो जानकारीअनुसार, हाल सुरुङभित्र जमेको पानी पम्पमार्फत बाहिर निकाल्ने कार्य भइरहेको छ। पानी पूर्ण रूपमा निकास गरी स्थललाई सुरक्षित घोषणा गरेपछि बाँकी शवहरूको खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।
यसैबीच, उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई आवश्यक परे तत्काल आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक टोली र एम्बुलेन्स घटनास्थलमै तयारी अवस्थामा राखिएको छ। कुनै गम्भीर स्वास्थ्य आपतकालीन अवस्था उत्पन्न भएमा सम्बन्धित व्यक्तिलाई विशेषज्ञ उपचारका लागि रम्फू अस्पताल पठाइने व्यवस्था गरिएको छ।
स्मरण रहोस्, दक्षिण सिक्किमको नाम्ची जिल्ला अन्तर्गत समरदुङ, झोलुङ्गेस्थित एनएचपीसीको सुरुङभित्र 20 जुलाई दिउॅंसो कथित हानिकारक ग्यास लिक भएपछि ठूलो घटना घट्यो। घटनाको समय सुरुङमा 25 भन्दा अधिक श्रमिकहरू काम गरिरहेका थिए।
घटनाको सूचना पाउन साथ राहत एवं उद्धार कार्य शुरु गरियो। हिजो साँझसम्म 12 जनाको शव निकालिएको थियो। यस अतिरिक्त, थप आठ जनाको शव सुरुङमा भेटिएको जानकारी गराइएको छ। यद्यपि, प्रतिकूल परिस्थितिका कारण ती शवहरू निकाल्न नसकिएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल