
गेजिङ, 22 जुलाई (हि.स.)। ग्राम विकास विभाग अन्तर्गत ३३औँ श्रवण कुमार पुरस्कार चयन प्रक्रिया आज जिल्ला प्रशासनिक केन्द्र गेजिङमा सम्पन्न भयो। समाजमा मातापिताप्रति सम्मान, सेवा, संरक्षण र उत्तरदायित्वको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो पुरस्कार प्रदान गरिन्छ।
प्रारम्भमा अतिरिक्त जिल्लापाल (विकास) ले उपस्थित सदस्यहरूलाई स्वागत गर्दै श्रवण कुमार पुरस्कारका लागि निर्धारण गरिएका छनोट मापदण्ड तथा योग्यताबारे विस्तृत जानकारी गराए। उनले पुरस्कार निष्पक्ष, पारदर्शी तथा निर्धारित मापदण्डका आधारमा प्रदान गरिने भएकाले प्रत्येक नामाङ्कनको सूक्ष्म मूल्याङ्कन गरिने बताए।
श्रवण कुमार पुरस्कार चयन समितिका अध्यक्ष गेजिङका जिल्लापाल हुन् भने सदस्यहरूमा जिल्ला पुलिस अधीक्षक, जिल्ला पञ्चायत अध्यक्ष, जिल्ला पञ्चायत उपाध्यक्ष तथा कल्याण अधिकारी रहेका छन्। समितिका सदस्य सचिवको जिम्मेवारी अतिरिक्त जिल्लापालले निर्वाह गरेका छन्।
पुरस्कारका लागि प्रत्येक ग्राम पञ्चायत एकाइबाट एकजना योग्य व्यक्तिको छनोट गरिनेछ। हरेक वर्ष १५ अगस्तका दिन प्रदान गरिने यस पुरस्कारका लागि जिल्लास्तरमा प्राप्त नामाङ्कनहरूको निर्धारित मापदण्डअनुसार छलफल तथा मूल्याङ्कन गरी छनोट प्रक्रिया सम्पन्न गरिएको छ।
सभामा गेजिङका जिल्लापाल, जिल्ला पञ्चायत अध्यक्ष, जिल्ला पुलिस अधीक्षक, जिल्ला पञ्चायत उपाध्यक्ष, कल्याण अधिकारी, पञ्चायत निरीक्षकहरू तथा विभिन्न विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल