
दार्जिलिङ, 22 जुलाई (हि.स.)। पश्चिम बंगाल विधानसभाको मनसुन सत्रलाई सम्बोधन गर्दै दार्जिलिङका विधायक नोमन राईले पहाडका विद्यार्थीहरूको हितका निम्ति प्राथमिक पाठशालाहरूको भौतिक संरचना निर्माणमा जोड दिनु पर्ने माग गरेका छन्। यसका साथै उनले लामो समयदेखि थॉंतीमा रहेको पहाडका ३१३ जना शिक्षकहरूको पनि समस्या समाधान गरेर विद्यालयमा विद्यार्थीहरूको शैक्षिक व्यवस्था सुचारू गरिनु पर्ने माग उठाएका छन्।
पहाडमा शिक्षक भर्तीको निम्ति कुनै कमिशन हालसम्म सञ्चालन नभएको हुँदा धेरै योग्य युवाहरूमा उदासीन बनेकाले चाँडै नै शिक्षक भर्ती व्यवस्था बहाली गरिनु पर्ने उनले माग राखे। उनले पहाडका विभिन्न चिया बगान श्रमिकहरुका निम्ति पनि सरकार प्रतिबद्ध रहनुपर्ने बताउँदै लङभिउँ चिया श्रमिकहरुका समस्या चाँडै नै समाधान गरिदिन माग राखे।
उनले जीटीएले पहाडका जनताको आकांक्षा पूरा नगरेको अनि यसमा पारदर्शिता नरहेको बताए। प्रधानमन्त्री आवास योजनाको स्वागत जनाउँदै उनले योग्य लाभार्थीहरुलाई लाभ सुनिश्चित गर्ने दिशामा पनि राज्य सरकारले पहल गर्नुपर्ने माग राखे। यसका साथै, अन्नपूर्ण योजनामा पनि योग्य लाभार्थीहरुले चाँडै यसको लाभ उठाउन सक्ने पहल गरिनु पर्ने माग गरे।
उनले पहाड, तराई डुवर्सवासीको दीर्घकालीन माग स्थायी राजनीतिक समाधान पनि केन्द्र सरकार, राज्य सरकार तथा सरोकारवालाहरुसॅंग समन्वय गरी चाँडै कार्य गरिनु पर्ने माग राखेका छन्।
हिन्दुस्थान समाचार / हनोक