बड़ापाथिङमा पुल भत्किएपछि अधिकारीहरूले गरे घटनास्थलको निरीक्षण
Collapsed bridge at barapathing


पाकिम, 23 जुलाई (हि.स.)। नाथाङ-माचोङ निर्वाचन क्षेत्रअन्तर्गत बड़ापाथिङमा रहेको पुल भत्किएपछि क्षतिको मूल्याङ्कन तथा पुनःस्थापनाको प्रक्रिया अघि बढाउन आज सम्बन्धित अधिकारीहरूले संयुक्त रूपमा घटनास्थलको निरीक्षण गरेका छन्।

निरीक्षणमा पाकिमका डीपीओ टीआर छेत्री, आरओ/एडी किरण छेत्री, भूमि राजस्व तथा आपदा प्रबन्धन विभाग, खानी तथा भूगर्भ विभागका अधिकारीहरू तथा नालन्दा इन्जिकोन प्रालिका प्रतिनिधिहरू सहभागी थिए।

निरीक्षणका क्रममा टोलीले अवस्थाको मूल्याङ्कन गर्दै सम्पर्क विच्छेद भएका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध हुन नदिन ट्रली प्रणालीमार्फत ढुवानी गरिने बताइएको छ। यसका साथै, नालन्दा इन्जिकोन प्रालिलाई बड़ापाथिङ-रङ्गेली सडक यथाशीघ्र सञ्चालनमा ल्याई यात्रुहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न निर्देशन दिइएको छ।

खानी तथा भूगर्भ विभागका अधिकारीहरूले घटनास्थलको प्राविधिक मूल्याङ्कन गरेका छन्। थप पुनःस्थापना तथा सुरक्षा उपायहरू तय गर्न ढलान (स्लोप) को स्थायित्वसम्बन्धी प्रतिवेदन तयार पार्ने कार्य भइरहेको बताइएको छ।

यसैबीच, प्रभावित क्षेत्रमा पैह्रो सफा गर्ने कार्य शुरु भइसकेको छ भने जोखिमयुक्त स्थानहरूमा नजिकका बस्तीलाई थप जोखिमबाट जोगाउन संरक्षण पर्खाल निर्माण गर्ने कार्य पनि अघि बढाइएको छ।

निरीक्षणका क्रममा स्थानीय बासिन्दाहरूले आफ्ना समस्या तथा गुनासाहरू राखेका थिए। अधिकारीहरूले यथाशीघ्र सडक सम्पर्क पुनःस्थापना गरी समस्या समाधानका लागि आवश्यक सबै प्रयास भइरहेको आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande