

नाम्ची, 23 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङ, झोलुङ्गेस्थित एनएचपीसी टिस्टा स्टेज-6 सुरुङ त्रासदीमा मर्नेहरुको संख्या बढेर 22 पुगेको छ। अबेर रातिसम्म चलेको खोज तथा उद्धार अभियानमा थप नौं जनाको शव फेला परेका हुन्।
दक्षिण सिक्किम अन्तर्गत नाम्ची जिल्लाको समरदुङ, झोलुङ्गेस्थित एनएचपीसी टिस्टा स्टेज-6 जलविद्युत् परियोजनाको सुरुङ त्रासदीको आज तेस्रो दिन हो। 20 जुलाई दिउँसो सुरुङभित्र अचानक विस्फोटका साथ कथित मिथेन ग्यास लिक भएपछि त्यहाँ काम गरिरहेका श्रमिकहरू हानिकारक ग्यासको चपेटामा परे। घटनाको सूचना पाउने बित्तिकै सुरुङभित्र फसेका श्रमिकहरूको खोज तथा उद्धार कार्य शुरु गरियो। यस कार्यमा एनडीआरएफ लगायत राज्यका सम्बन्धित एकाइहरू र राज्य बाहिरबाट आएका विशेषज्ञ टोलीहरू लागिपरेका छन्। बीचमा सुरुङभित्र प्रतिकूल परिस्थितिका कारण केही समयका लागि खोज तथा उद्धार कार्य प्रभावित बनेको थियो। यद्यपि, बुधबार बिहानदेखि पुनः उद्धार कार्य शुरु गरियो।हिजो बुधबार साँझसम्म थप एक व्यक्तिको शव फेला परेको थियो, जसपछि मृतकहरूको संख्या 13 पुगेको थियो। यसैगरी, हिजो अबेर रातिसम्म चलेको खोज तथा उद्धार अभियानका क्रममा थप नौं जनाको शव फेला परेका छन्। नाम्ची जिल्ला प्रशासनले आज बिहान जारी गरेको ताजा जानकारी अनुसार अहिलेसम्म 22 जनाको शव फेला परेका छन्। एनएचपीसीले घटनापछि समय सुरुङभित्र 25 जना फसेको बताएको छ।नाम्ची जिल्ला प्रशासनका अनुसार, कामदारहरूको खोजी तथा उद्धार अभियान बुधबार राति अबेरसम्म निरन्तर जारी रह्यो। बाँकी फसेका कामदारहरूलाई खोज्न तथा उद्धार गर्न उद्धार निकायहरूले आफ्नो प्रयासलाई अझ तीव्र बनाएका छन्। राति लगभग १० बजी ईस्टर्न कोलफिल्ड्स लिमिटेड (ईसीएल), आसनसोलको दोस्रो उद्धार टोली घटनास्थलमा पुगेर तत्कालै उद्धार अभियानमा सहभागी भयो। अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बीच उद्धार टोलीहरूले अथक प्रयास गर्दै मध्यरातसम्म अभियान सञ्चालन गरे।
पछिल्लो जानकारीअनुसार, हालसम्म सुरुङबाट २२ जनाको शव निकालिएको छ। बाँकी फसेकाहरूको खोजी तथा उद्धारका लागि विशेष उद्धार टोलीहरूले आपसी समन्वयमा अभियानलाई निरन्तरता दिएका छन्। राज्य सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित सबै निकायहरूले परिस्थितिमाथि निरन्तर निगरानी राख्दै उद्धार टोलीहरू तथा प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग उपलब्ध गराइरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल