समरदुङ सुरुङ त्रासदीका सबै २५ जना पीडितको शव उद्धार, चार दिनसम्म चलेको खोज तथा उद्धार अभियान समाप्त
खोज तथा उद्धार कार्य पूरा


खोज तथा उद्धार अभियान पूरा


नाम्ची, 23 जुलाई (हि.स.)। नाम्ची जिल्लाको झोलुङ्गे अन्तर्गत समरदुङमा निर्माणाधीन नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेशन लिमिटेड (एनएचपीसी) को टिस्टा चरण-6 जलविद्युत् परियोजनाको सुरुङमा चार दिनदेखि सञ्चालन गरिएको खोज तथा उद्धार अभियान आज विभिन्न समाप्त भएको छ। सुरुङबाट सबै 25 जना पीडितको शव निकालिएको छ।

नाम्ची जिल्ला प्रशासनबाट प्राप्त आधिकारिक जानकारीअनुसार, आजको उद्धार अभियानका क्रममा थप तीन जनाको शव फेला परेको छ। यससँगै घटनामा मृत्यु भएकामध्ये उद्धार गरिएका शवको कुल संख्या २५ पुगेको छ। त्यसपछि उद्धार टोलीले सुरुङको विस्तृत निरीक्षण गरी बेपत्ता भएका सबै श्रमिकहरूको विवरणसँग मिलान गर्दा सुरुङभित्र अब कोही पनि फसेको नरहेको पुष्टि गरेको छ।

मृतकहरू एनएचपीसी लिमिटेड, एआरएक्स र पटेल इन्जिनियरिङ लिमिटेडसँग आबद्ध कर्मचारी तथा अधिकारीहरू थिए। उनीहरू भारतका विभिन्न १० वटा राज्यका निवासी थिए, जसमा पश्चिम बंगालका ११ जना, झारखण्डका ४ जना, जम्मू-कश्मीर र उत्तराखण्डका २/२ जना तथा केरल, उत्तर प्रदेश, बिहार, सिक्किम, पञ्जाब र असमका १/१ जना रहेका छन्।

उद्धार गरिएका सबै शवलाई आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया पूरा गर्न सिङ्गताम जिल्ला अस्पताल, एसटीएनएम अस्पताल (गान्तोक), नाम्ची जिल्ला अस्पताल तथा सेन्ट्रल रेफरल अस्पताल, मणिपालमा पठाइएको छ। पहिचान भएका शवहरू सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ।

यसैबीच, राज्य सरकारले यस दुःखद घटनाको कारण र परिस्थितिबारे जाँच गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सिफारिस प्रस्तुत गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

उद्धार अभियान नाम्ची जिल्ला प्रशासनको नेतृत्वमा एनएचपीसीका अधिकारीहरू, राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ), इस्टर्न कोलफिल्ड्स लिमिटेड, आसनसोलको माइन्स रेस्क्यु टोली, सिक्किम पुलिस, अग्नि तथा आपतकालीन सेवा, स्वास्थ्य तथा परिवार कल्याण विभाग तथा अन्य सम्बन्धित विभागहरूको घनिष्ठ समन्वयमा सञ्चालन गरिएको थियो। अभियानको निरन्तर अनुगमन सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले गरेको थियो।

खोज तथा उद्धार अभियान सफलतापूर्वक सम्पन्न भएपछि जिल्ला प्रशासनले चार दिनसम्मको चुनौतीपूर्ण अभियानमा अथक समर्पण, व्यावसायिकता र उत्कृष्ट समन्वयका साथ योगदान पुर्याउने सबै उद्धार निकाय तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

उल्लेखनीय छ, दक्षिण सिक्किम अन्तर्गत नाम्ची जिल्लाको समरदुङ, झोलुङ्गेस्थित एनएचपीसी टिस्टा स्टेज-6 जलविद्युत् परियोजनाको सुरुङ त्रासदीको आज चौथो दिन हो। 20 जुलाई दिउँसो सुरुङभित्र अचानक विस्फोटका साथ कथित मिथेन ग्यास लिक भएपछि त्यहाँ काम गरिरहेका श्रमिकहरू हानिकारक ग्यासको चपेटामा परे।घटनाको सूचना पाउने बित्तिकै सुरुङभित्र फसेका श्रमिकहरूको खोज तथा उद्धार कार्य शुरु गरियो। यस कार्यमा एनडीआरएफ लगायत राज्यका सम्बन्धित एकाइहरू र राज्य बाहिरबाट आएका विशेषज्ञ टोलीहरू लागिपरेका छन्। बीचमा सुरुङभित्र प्रतिकूल परिस्थितिका कारण केही समयका लागि खोज तथा उद्धार कार्य प्रभावित बनेको थियो। यद्यपि, बुधबार बिहानदेखि पुनः उद्धार कार्य शुरु गरियो। एनएचपीसीले सुरुङभित्र 25 जना फसेको बताएको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande