
गान्तोक, 23 जुलाई (हि.स.)। सिक्किम विधानसभाको वित्तीय वर्ष 2026-27 का लागि चार दिवसीय साधारण बजेट अधिवेशन बिहिवार समाप्त भयो। बजेट अधिवेशनको आज अन्तिम दिन साधारण बजेट, एउटा विधेयक र विभिन्न विभागीय अनुदान मागहरू पारित गरियो।
मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले बजेट अधिवेशनको पहिलो दिन 20 जुलाईमा वित्तीय वर्ष 2026-27 का लागि सदनमा 18,455 करोड़ रूपियॉंको साधारण बजेट पेश गरेका थिए। बजेटमाथि 21 जुलाईमा सदनमा चर्चा भयो भने आज सर्वसम्मतिद्वारा बजेट पारित गरियो।
यसरी नै सदनमा आज ओपन स्कूलिङ एण्ड भोकेशनल एडुकेशन, सिक्किम बिल 2026 पनि बिना बहस पारित गरियो। उक्त विधेयक शिक्षा विभाग मन्त्री राजु बस्नेतले बजेट अधिवेशनको पहिलो दिन सदनम पेश गरेका थिए। यस अतिरिक्त, सदनमा विभिन्न विभागीय अनुदान मागहरू पनि पारित गरिएको छ।
उक्त अनुदान मागहरू मुख्यमन्त्री प्रेमसिंह तामाङ, सडक एवं पुल विभाग मन्त्री एनबी दाहाल, शिक्षा, खेलकुद एवं संसदीय मामिला विभाग मन्त्री राजु बस्नेत र पर्यटन, वाणिज्य एवं उद्योग खाद्य प्रसंस्करण उद्योग मन्त्री टीटी भोटियाले राखेका थिए।
हिन्दुस्थान समाचार / बिशाल