
गान्तोक, 23 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले २२ जुलाईमा नयाँ दिल्लीको सफदरजङ विमानस्थलस्थित राजीव गान्धी भवनमा भारतीय विमानस्थल प्राधिकरण (एएआई) का अध्यक्ष विपिन कुमारसॅंग भेट गरे। बैठकमा डा. सुब्बाले पाकिम विमानस्थलको ढलान मरम्मतसँग सम्बन्धित पुनर्स्थापना कार्यहरूलाई तीव्र बनाउन तत्काल हस्तक्षेप गर्न आग्रह गरे। उक्त जानकारी सांसदको कार्यालयले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
डा. सुब्बाले एएआई अध्यक्षलाई ढलान धस्किने समस्या चिन्ताको ठूलो कारण बनेको बताए। उनले रनवे मुनिको ढलान धस्किएर राष्ट्रिय राजमार्ग ७१७ए लाई गम्भीर रूपमा असर गरेको छ भने यात्रुहरू र पाकिमका स्थानीय बासिन्दाहरूलाई ठूलो कठिनाइ भइरहेको अवगत गराए। उनले आवश्यक ढलान स्थिरीकरण र पुनर्स्थापना कार्यहरूको लागि डीपीआर र लागत अनुमान धेरै महिनादेखि विचाराधीन रहेको छ भने यसले पुनर्स्थापना प्रक्रिया शुरु गर्न अनावश्यक ढिलाई भइरहेको बताए।
उनले दुई मनसुन सिजनहरू पुनर्स्थापना कार्य बिना नै बितिसकेको बताउॅंदै प्रभावित ढलानहरूको अवस्था अझ बिग्रँदै गएको बताए। उनले पुनर्स्थापना अझ चुनौतीपूर्ण बन्नुका साथै जोखिम र लागत पनि बढ्दै गएको बताए।
उनले पाकिम विमानस्थलको रणनीतिक महत्त्व र जनताले सामना गरिरहेका कठिनाइहरूलाई ध्यानमा राख्दै पुनर्स्थापना कार्यहरू छिटो शुरु र सम्पन्न गर्न अध्यक्षको व्यक्तिगत हस्तक्षेपको लागि हार्दिक अनुरोध गरे।
हिन्दुस्थान समाचार / बिशाल