विपक्षीले सरकारलाई आर्थिक रूपमा दिवालियाको आरोप लगाउँछ भने बजेटमा 2259 करोड़ कसरी बढ्यो: मुख्यमन्त्री
मुख्यमन्त्री प्रेमसिंह तामाङ


गान्तोक, 23 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गत वर्षको तुलना यस वर्ष बजेटमा 2259 करोड़ रूपियॉं वृद्धि गरिएको बताएका छन्। वित्तीय वर्ष 2025-26 का लागि 16,196 करोड़ बजेट पारित गरिएको थियो भने वित्तीय वर्ष 2026-27 का लागि 18,455 करोड़ रूपियॉं पारित गरिएको छ। उक्त जानकारी मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री तामाङले चार दिवसीय बजेट अधिवेशनको आज अन्तिम दिन सदनमा दिए।

सदनमा बजेट अभिभाषण राख्दै मुख्यमन्त्रीले यस बजेटमा राजस्व व्यय 11,733 करोड़ रहेको छ भने पूँजीगत व्यय 5896 करोड़ रहेको जानकारी गराए। उनले पूॅंजीगत व्यय सम्पत्ति अथवा पूर्वाधार निर्माणमा खर्च गरिने छ भने राजस्व व्यय विभिन्न रूपमा जनताको हात-हातमा पुग्ने बताए। उनले सदनमा 11,733 करोड़ रूपियॉंको राजस्व व्यय वेतन, ज्याला, पेन्शन, अनुदान, वृद्ध भत्ता, आमा योजना, शिशु समृद्धि योजना, श्रावण कुमार पुरस्कार, बिरामीलाई आर्थिक सहायता आदिको रूपमा जनताकहॉं पुग्नेछ भनी बताए।

विपक्षी राजनीतिक दलहरूले सिक्किम सरकार आर्थिक रूपमा दिवालिया भएको आरोप लगाइरहेको उल्लेख गर्दै उनले यदि विपक्षीहरूको आरोप सत्य हो भने यसपालीको बजेटमा कुन आधारमा 2259 करोड़ रूपियॉं वृद्धि भयो भनी प्रश्न गरे। उनले विपक्षीहरूमाथि जनतालाई दि​ग्भ्रमित गर्ने काम गरिरहेको आरोप लगाए।

मुख्यमन्त्रीले अघिल्लो सरकार र वर्तमान सरकारको बजेट व्यवस्थाको तुलनात्मक दृष्टिकोण प्रस्तुत गर्दै भने, 2018-19 मा पूर्व सरकारले सरकारी कर्मचारीहरूको वेतनमा 1944.32 करोड़, ज्यालामा 70.34 करोड़, अनुदानमा 322.14 करोड़ र पेन्शनमा 737.24 करोड़ खर्च गरिरहेको थियो। एसकेएम सरकारले केवल सात वर्षको अन्तरालमा कर्मचारीहरूको वेतनमा 4243.96 करोड़, ज्यालामा 560.33 करोड़, अनुदानमा 237.57 करोड़ र पेन्शनमा 1648.81 करोड़ खर्च गरिरहेको छ।

उनले 2018-19 मा पूर्व सरकारको वार्षिक बजेट 6690.67 करोड़ रूपियॉं थियो भने वर्तमान सरकारले यस वित्तीय वर्षका लागि 18,455 करोड़ रूपियॉं पारित गरेको बताए, जुन पूर्व सरकारको तुलनामा 100 प्रतिशत वृद्धि हो। उनले बजेटमा अनुदानमा राशि घट्नुका मुख्य कारण अस्थायी कर्मचारीहरूको स्थायीकरण रहेको दाबी गरे। पूर्व सरकारले 24-25 वर्षसम्म एड्हकमा काम गर्ने कर्मचारीहरूलाई स्थायी नगरेको, तर एसकेएम पार्टी सत्तामा आउने बित्तिकै एकैपल्टमा 28 हजारसम्म अस्थायी कर्मचारीहरूलाई स्थायी गरिएको बताए।

यसैगरी, सरकारले वान ऱ्याङ्क वान पेन्शन नीति लागू गरेकाले पेन्शनको राशि पनि अत्यधिक वृद्धि भएको बताए। उनले सिक्किमको जीएसडीपी 62,973 करोड़ रहेको र उक्त आंकडा पूर्व सरकारको समयको तुलनामा 121 प्रतिशत धेर रहेको बताए। उनले सरकारको नीतिका कारण र सरकारले काम गरेकाले राजस्व वृद्धि भइरहेको बताए। विपक्षीहरूले सरकारमाथि अत्यधिक ऋण लिएको आरोप लगाउने गरेको बताउॅंदै सरकारले कानून बमोजिम र ऋण फिर्ता गर्न सक्ने क्षमताका कारण ऋण लिने गरेको उनले स्पष्ट पारे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande