
गान्तोक, 23 जुलाई (हि.स.)। सिक्किम सरकारले दक्षिण सिक्किमको समरदुङ सुरुङ त्रासदीलाई लिएर एउटा चार सदस्यीय उच्चस्तरीय कमिटी गठन गरेको छ। कमिटीले जॉंच गरेर आगामी 15 दिनभित्र घटनाबारे आफ्नो निष्कर्ष र सिफारिस बुझाउने छ। सिक्किम सरकारको गृह विभागले 22 जुलाई, 2026 का दिन जारी गरेको एउटा अधिसूचनामा उक्त जानकारी दिएको छ।
अधिसूचनामा 20 जुलाई, 2026 का दिन नाम्ची जिल्लाको झोलुङ्गेस्थित समरदुङमा टिस्टा चरण 6 जलविद्युत परियोजनाको सुरुङमा विस्फोट भएको उल्लेख छ। यस दुर्भाग्यपूर्ण घटनाका कारण र परिस्थितिहरू बुझ्न, यस्ता घटना दोहोरिन नदिनका लागि सुधारात्मक उपायहरू सिफारिस गर्न तथा सार्वजनिक सुरक्षाको हितमा सिक्किम सरकारले उच्चस्तरीय कमिटी गठन गरिरहेको बताएको छ।
कमिटीमा सिक्किम पुलिसका आईजीपी (कानून एवं व्यवस्था) टाशी वाङ्ग्याल अध्यक्ष रहेका छन्। यसैगरी, खानी तथा भूगर्भ विभागका प्रधान निर्देशक फिगु छिरिङ भोटिया र विभाग अतिरिक्त निर्देशक केशर लुइटेल कमिटीका सदस्य रहेका छन्। साथै, सिक्किम पुलिसको डीआईजीपी सीआईडी तेन्जिङ लोडेन लेप्चालाई सदस्य सचिव नियुक्त गरिएको छ।
कमिटीले विस्फोट जस्तो घटना हुनुका वास्तविक कारणहरू पत्ता लगाउने, सुरक्षा मापदण्डहरू र मानक सञ्चालन प्रक्रिया अपनाइएको थियो अथवा थिएन, ग्यास लिकको प्रकार र स्रोत निर्धारण आदि जस्ता विषयहरूबारे अध्ययन गर्नेछ र समक्ष प्राधिकारलाई पन्ध्र दिनभित्र आफ्नो रिपोर्ट बुझाउने छ।
उल्लेखनीय छ, दक्षिण सिक्किमको झोलुङ्गेस्थित समरदुङमा टिस्टा चरण 6 जलविद्युत परियोजनाको सुरुङमा भएको कथित ग्यास लिक घटनाको चपेटमा परेर 25 जनाको मृत्यु भएको छ। चार दिनसम्म चलेको खोज तथा उद्धार अभियान बिहिवार समाप्त भयो।
हिन्दुस्थान समाचार / बिशाल