
गुवाहाटी, 24 जुलाई (हि.स.)। असममा बाढ़ीको स्थितिलाई लिएर निर्दलीय विधायक अखिल गोगोईमाथि राजनीति गरेको आरोप सत्ता पक्ष अनि विपक्ष दुवैले लगाएका छन्।
पोइन्ट अफ अर्डर अन्तर्गत आज बोल्दै नेता प्रतिपक्ष वाजेद अली चौधरी अनि कङ्ग्रेस विधायक नुरूल हुदाले बितेको बिहीवार असम विधानसभामा भएको घटनालाई पूर्व नियोजित बताए। उनीहरूले भने, अखिल गोगोईले बाढ़ी जस्तो गम्भीर मुद्दामा राजनीति गरिरहेका छन्। वाजेद अली चौधरीले
भने, सदनबाट बाहिरिएर अखिल गोगोईले कङ्ग्रेसेमाथि दोषारोपण गरे जसलाई सोशल मिडायामा गलत ढङ्गमा प्रसारित गरियो।
यसरी नै संसदीय मन्त्री पीयूष हजारिकाले पनि अखिल गोगोईको व्यवहारलाई असंसदीय बताउँदै यस मामिलामा विधानसभा अध्यक्ष रञ्जीत दाससित कारबाही गर्ने माग गरे।
विधानसभा अध्यक्षले भने, सदन बाहिर अनि सोशल मीडियामा गरिरहेको टिप्पणीमाथि सदनमा चर्चा गर्नुको कुनै अर्थ छैन। उनले भने, अखिलले हिजो सदनमा दुई मिनट बोल्ने अनुमति मसित मागेका थिए। मैले समय पनि दिएको थिएँ, तथापि अखिलले टेबलमाथि चढ़ेर खैलाबैला गरे। उनले यो पनि भने, असमको संसदीय इतिहासमा आजसम्म यस किसिमको घटना भएको देखिएको थिएन। अध्यक्षले भने, सही अर्थमै बिहीवार भएको खैलाबैलाको भिडियो फुटेज जारी गरेर राज्यका जनतालाई वास्तविकता बताउनुपर्छ। यद्यपि उनले भिडियो फुटेज जारी गर्ने सन्दर्भमा कुनै आश्वासन दिएनन्।
यसबीच सत्ता पक्षका एकजना विधायकले अखिल गोगोईविरूद्ध विशेषाधिकार हनन अन्तर्गत कारबाही गर्ने माग अध्यक्षसित गरे। तर अध्यक्षले कारबाही गर्नदेखि अस्वीकार गरे।
शुक्रवार असम विधानसभाको कारबाहीमा भाग लिन पुगेका विधायकहरूले सदन बाहिर पत्रकारहरूसित बातचित गर्दै अखिल गोगोीको आचरणप्रति असन्तुष्टि व्यक्त गरे।
कङ्ग्रेस विधायक जयप्रकाश दासले भने, अखिल गोगोईले विधानसभामा आउनको सट्टा आफ्नो विधानसभा क्षेत्र शिवसागरमा बाढ़ी प्रभावित मानिसहरूमाझ बस्नुपर्थ्यो। उनले भने, यस्तो कठिन समयमा राजनीति गर्नको सट्टा मानिसहरूको सेवा गर्नु अधिक आवश्यक छ।
कङ्ग्रेस विधायक जाकिर हुसैन सिकदारले पनि अखिल गोगोईको आलोचना गर्दै भने, यदि आफू शिवसागरको विधायक भएको भए अहिलेको घड़ीमा उनी विधानसभामा आउने थिएनन्। उनले भने, यो राजनीति गर्ने वा मानिसहरूलाई भ्रमित पार्ने समय होइन जबकि बाढ़ी प्रभावित मानिसहरूलाई सहयोग गर्ने समय हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा