नगरपालिका भर्ती घोटालाः ईडी समक्ष पेश भइन् मदन मित्रकी पत्नी अर्चना मित्र
नगरपालिका भर्ती घोटालाः ईडी समक्ष पेश भइन् मदन मित्रकी पत्नी अर्चना मित्र


कोलकाता, 24 जुलाई (हि. स.)। पश्चिम बङ्गालको बहुचर्चित नगरपालिका भर्ती घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी)-को जाँच द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। शुक्रवार तृणमूल कङ्ग्रेसका विधायक मदन मित्रकी पत्नी अर्चना मित्र जाँचबुझका लागि कोलकाताको सीजीओ कम्प्लेक्सस्थित कार्यलयमा पुगिन्। उनको साथमा कान्छा छोरा शुभरूप मित्र पनि उपस्थित थिए।

बिहान लगभ 11:30 बजे ईडी कार्यालयमा पुगेकी अर्चना मित्रले मीडियाका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरिन्। हात जोड़्दै सोझै कार्यालयभित्र प्रवेश गरिन्।

यस मामिलामा ईडीले मदन मित्रको परिवारका चार जना सदस्यहरूलाई भिन्न-भिन्न मितिहरूमा बोलाएको छ। गत बुधवार कान्छा छोरा शुभरूप मित्रसित लगभग नौ घण्टासम्म जाँचबुझ गरिएको थियो भने बिहीवार जेठा छोरा स्वरूप मित्र ईडी समक्ष पेश भएका थिए। यसरी नै कमरहाटीबाट तृणमूल विधायक मदन मित्रलाई आगामी 29 जुलाईमा जाँचबुझको लागि बोलाइएको छ।

ईडीको आरोप छ, टिटागढ़ नगरपालिकामा नगद राशि र सुनको सट्टा न्यूनतम 125 जना मानिसहरूलाई नोकरी दिइएको थियो। यसैको जाँचमा मदन मित्रको नाम पनि मुछिएको थियो। गत 13 जूनका दिन ईडीले उनका केही ठेगानाहरूमा छापामारी गर्नको साथै उनीसित जाँचबुझ पनि गरेको थियो। त्यसपछि उनका दुई छोरा अनि पत्नीलाई पनि ब्याङ्क सम्बन्धी दस्तावेजहरूसितै पेश हुने निर्देश दिइयो।

जाँच एजेन्सीले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि नगरपालिकामा नियुक्तिको सट्टा कुनै अवैध वित्तीय लेनदेन भएको थियो कि थिएन।

यता पछिल्लो साता पत्नी र दुवै पुत्रहरूलाई ईडीको समन प्राप्त भएपछि मदन मित्र तृणमूल कङ्ग्रेसको ऋतब्रत ब्यानर्जी गुटमा सामेल भएका थिए। त्यसपछि उनले मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande