
गान्तोक, 24 जुलाई (हि.स.)। सिक्किमका संरक्षक सन्त एवं बौद्ध धर्मका सम्मानित गुरु गुरु पद्मसम्भवको जयन्ती आज गान्तोकका भक्तिभावका साथमा मनाइयो। यस अवसरमा यहॉंको दोताफु देवराली छोर्तेनबाट गान्तोकको मुख्य शहर हुँदै पवित्र शोभायात्रा निकालिएको थियो। शोभायात्रामा बौद्ध धर्मावलम्बीहरू र राजधानीवासीहरू सहभागी बने।
उक्त कार्यक्रम सिक्किम बौद्ध दुछेन संगठन (एसबीडीओ), दोताफु देवराली छोर्तेन र राज्यका अन्य बौद्ध संगठनहरूले आयोजना गरेका थिए। अनुष्ठानको शुभारम्भ छोर्तेन गुम्पाका भिक्षुहरूले गुरु छे-वाङ (पवित्र दीर्घायु सशक्तिकरण) र गुरु छ्येन-ड्रेन (निमन्त्रणा प्रार्थना) जस्ता औपचारिक प्रार्थनाहरूका साथै भोजन अर्पण (सोग) सम्पन्न गरे।
त्यसपछि, लाचुङ टुल्कू रिम्पोछे र अन्य सम्मानित लामाहरूको अध्यक्षतामा गुरु थाङड्रल छेन्मो परम्परागत रूपमा फहराउने अनुष्ठान सम्पन्न गरियो। यसपछि, देवराली छोर्तेनबाट पवित्र गुरु तेजोएट ग्रन्थहरू र पूज्य गुरु पद्मसम्भवको मूर्ति सहितको शोभायात्राका लागि सयौं भिक्षुहरू, विद्यार्थीहरू, भक्तहरू र स्वयंसेवकहरू लामबद्ध भए।
शोभायात्रा तोकिएको मार्गमा अघि बढ्दै रिज पार्कमा पुगेर छोटो समयको लागि रोकियो, जहाँ भक्तहरू गुरु रिम्पोछेलाई प्रार्थना गर्न एकत्रित भएका थिए। रिज पार्कमा आयोजित समारोहमा राज्यपाल ओम प्रकाश माथुर पनि उपस्थित थिए। यसैगरी, मन्त्री सोनाम लामा, मन्त्री अरुण उप्रेती, विधायक तेन्जिङ नर्बु लाम्, विधायक दिले बर्फुङ्गपा आदि पनि उपस्थित थिए।
रिज पार्कमा छोटो विरामपछि पवित्र शोभायात्रा दोताफु देवरली छोर्तेनतिर फर्कियो। शोभायात्राका सबै सहभागीहरूलाई गुरु छे-वाङ र सोग वितरणसँगै दिनको उत्सव समाप्त भयो।
हिन्दुस्थान समाचार / बिशाल