बर्फुङको फामताममा पैह्रोको चपेटामा परेर दुई जनाको मृत्यु, दुई घाइते
घटना स्थलमा उद्धार कार्य गर्दै उद्धार टोली


गान्तोक, 25 जुलाई (हि.स.)। नाम्ची जिल्लाको बर्फुङ अन्तर्गत फामतामस्थित बर्मेली पुल नजिक शनिबार बिहान पैह्रोको चपेटामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।

बर्फुङ निर्वाचन क्षेत्रकाे फामताम- मकेरजुङ गाउँको बर्मेली पुल नजिक आज बिहान लगभग ११:५० बजी (रिपोर्ट गरिएको समय) पैह्रो जाँदा दुई जनाको मृत्यु भएको छ। मृतकहरूको नाम लाल बहादुर राई (18) र मन बहादुर गुरुङ (61) बताइएको छ। पैह्रोको चपेटामा परेर दुई जना घाइते भएका छन् भने उनीहरुलाई अस्पतालमा भर्ती गरिएको छ।

घाइतेमध्ये एक जनालाई नाम्ची जिल्ला अस्पतालमा रेफर गरिएको छ र उनको अवस्था हाल स्थिर रहेको छ। अर्का एक जना सामान्य घाइतेको राभाङ्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले बताएका छन्।

प्राप्त जानकारीअनुसार, सादा गाउँ र फामताम गाउँबीच पैह्रोले अवरुद्ध सड़क खुलाउने कार्यमा श्रमिकहरूको टोली खटिएको बेला अचानक आएको पैह्रोले उनीहरूलाई पुरेको बताइएको छ।

क्षेत्र विधायक रिक्साल दोर्जी भोटियाले घटनास्थल पुगेर अवस्थाको जायजा लिएका छन्। उनीसँगै नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङ, जिल्ला प्रशासनका अधिकारीहरू, राभाङ्ला पुलिस तथा सड़क एवं पुल विभागका अधिकारीहरू पनि घटनास्थल पुगे। घटना भएलगत्तै राज्य प्रशासनले पैह्रो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा परिचालन गरेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande