
गान्तोक, 25 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राबोङ महकुमा अन्तर्गत फामताम गाउँमा भएको दुःखद पैह्रोको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस दुःखको समयमा सरकार फामतामका जनताको साथमा रहेको विश्वास दिलाएका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा आज पैह्रोको चपेटामा परेर फामताममा दुई जनाको मृत्यु भएको उल्लेख गरेका छन्। उनले शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गरेका छन्।उनले घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै राज्य सरकारले प्रभावित परिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइरहेको बताएका छन्। उनले उद्धार कार्यमा तत्काल सक्रियता देखाएको जिल्ला प्रशासन, पुलिस, ६औँ स्पेशल फ्रन्टियर फोर्स, स्थानीय प्रशासन तथा गाउँलेहरूको समर्पण र अथक प्रयासको प्रशंसा गरेका छन्।
यसका साथै, मुख्यमन्त्रीले सबैलाई सतर्क रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा तथा सावधानीसम्बन्धी निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल