सिक्किम पूर्व विधायक महासंघले २४औँ स्थापना दिवस मनायो, रजत जयन्ती भव्य रुपमा मनाउने निर्णय
Sikkim former legislators federation


गान्तोक, 26 जुलाई (हि.स.)। सिक्किम पूर्व विधायक महासंघले आइतबार गान्तोकस्थित आफ्नो मुख्य कार्यालयमा २४औँ स्थापना दिवस मनाउँदै संगठनलाई थप सुदृढ़ बनाउने तथा आगामी वर्ष आयोजना हुने रजत जयन्ती समारोहको तयारीका लागि चार महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

कार्यक्रमको अध्यक्षता महासंघका वरिष्ठ सदस्य तथा मुख्यमन्त्रीका वरिष्ठ सल्लाहकार सोनाम काल्योनले गरेको थियो। बैठकमा महासंघको भावी कार्ययोजना, स्मारिका प्रकाशन, पूर्वाधार विकास तथा संगठनात्मक सुधारसम्बन्धी चार प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पहिलो प्रस्तावअनुसार, महासंघको रजत जयन्ती समारोह २६ जुलाई, २०२७ मा गान्तोकमा भव्य रूपमा आयोजना गरिनेछ। उक्त समारोहमा मुख्यमन्त्रीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिने प्रस्ताव गरिएको छ। महासंघले यो समारोहलाई सिक्किमको सेवा, एकता र विकासप्रतिको समर्पणको प्रतीकका रूपमा मनाउने जनाएको छ।

दोस्रो प्रस्तावअन्तर्गत रजत जयन्ती वर्षको अवसरमा स्मारिका प्रकाशन गर्ने निर्णय गरिएको छ। यसका लागि बिरबल सुब्बा, दाउछो लेप्चा, केटी.श ग्यालछेन, भीम ढुङ्गेल तथा एके घातानी सदस्य रहेको सम्पादकीय समिति गठन गरिएको छ।

तेस्रो प्रस्तावमार्फत महासंघले आर्थिक वर्ष २०२६-२७ को राज्य बजेटमा महासंघका लागि नयाँ अतिथि गृह-सहित कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्था गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा सिक्किम सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ। स्थायी भवन निर्माण सम्पन्न नहुँदासम्म कार्यालय सञ्चालनका लागि अस्थायी व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

चौथो प्रस्तावअनुसार महासंघको संशोधित विधान, ज्ञापनपत्र तथा संविधान सर्वसम्मत रूपमा पारित गरिएको छ। संशोधित दस्तावेजले संगठनात्मक संरचनालाई थप सुदृढ़ बनाउने, उद्देश्य तथा सदस्यताको मापदण्ड स्पष्ट गर्ने, पारदर्शिता सुनिश्चित गर्ने तथा वर्तमान आवश्यकताअनुसार महासंघलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष जीएम गुरुङले यस वर्ष स्थापना दिवस आन्तरिक रूपमा मनाइएको भए पनि २०२७ मा हुने रजत जयन्ती समारोहलाई भव्य रूपमा आयोजना गर्ने तयारी शुरु भइसकेको जानकारी दिए। उनले राज्य सरकारले महासंघको नयाँ कार्यालय-सहित अतिथि गृह निर्माणका लागि बजेट विनियोजन गर्नुका साथै ५,१०० वर्गफुट जग्गा उपलब्ध गराएको बताउँदै २४ वर्षपछि प्राप्त भएको यो उपलब्धिले महासंघलाई स्थायी संस्थागत आधार प्रदान गर्ने उल्लेख गरे।

कार्यक्रमका अध्यक्ष सोनाम काल्योनले महासंघले २४ वर्ष पूरा गरेको अवसरमा सबै सदस्यहरूलाई बधाई दिँदै कार्यसमितिले पूर्व विधायकहरू तथा दिवंगत सदस्यहरूको परिवारलाई एकै ठाउँमा ल्याई उनीहरूको राज्य र राष्ट्रप्रतिको योगदानलाई सम्मान गर्ने प्रयासको प्रशंसा गरे। उनले पूर्व जनप्रतिनिधिहरूको अनुभव र मार्गदर्शन सिक्किमको निरन्तर विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राज्य सरकार र महासंघबीचको सहकार्य आगामी दिनहरूमा अझ सुदृढ़ हुँदै जाने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande