
गान्तोक, 27 जुलाई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज संसद भवनमा केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी राष्ट्रिय राजमार्ग-१० अन्तर्गत बर्दाङ २० माइलस्थित पैह्रोको गम्भीर अवस्थाबारे जानकारी गराएका छन्। उनले उक्त क्षेत्र एनएच-१० को सबैभन्दा संवेदनशील खण्डमध्ये एक रहेको, जसले सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने जीवनरेखाको रूपमा काम गर्दछ भनी अवगत गराए। उक्त जानकारी सांसदको कार्यालयद्धारा आज जारी प्रेस विज्ञप्तिमा दिइएको छ।
भेटका क्रममा डा. सुब्बाले बर्दाङ क्षेत्रमा पटक-पटक जाने पैह्रोका कारण सड़क बारम्बार अवरुद्ध हुने, अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुने, पर्यटन तथा आर्थिक गतिविधिमा असर पर्ने र सिक्किमका नागरिकले ठूलो सास्ती बेहोर्नुपरेको विषय उल्लेख गर्दै विस्तृत ज्ञापनपत्रसमेत बुझाए।
स्थायी तथा दिगो समाधानको आवश्यकतामा जोड दिँदै उनले पैह्रो प्रभावित क्षेत्रमा विस्तृत भू-प्राविधिक अध्ययन गरिनुपर्ने माग गरे। उनले अध्ययनको निष्कर्षका आधारमा प्राविधिक, पर्यावरणीय तथा आर्थिक रूपमा उपयुक्त विकल्प छनोट गर्दै बाइपास सुरुङ वा कट एन्ड कभर टनल निर्माण गर्ने विषयमा सरकारलाई विचार गर्न आग्रह गरेका छन्।
डा. सुब्बाले विगत केही वर्षदेखि ढलान स्थिरीकरणका विभिन्न उपाय अपनाइए पनि पैह्रो झर्ने क्रम जारी रहेकाले अस्थायी समाधानभन्दा दीर्घकालीन अभियान्त्रिकी समाधान आवश्यकमा जोड दिए। उनले सुरुङमा आधारित विकल्पले वर्षभरि सुरक्षित आवागमन सुनिश्चित गर्नुका साथै मनसुनका बेला हुने अवरोध कम गरी एनएच-१० को दिगोपन र विश्वसनीयता उल्लेखनीय रूपमा बढाउने विचार व्यक्त गरे।
उनले भू-प्राविधिक अध्ययनमा देशका प्रतिष्ठित भू-प्राविधिक संस्था तथा विज्ञहरूलाई संलग्न गराई सबैभन्दा उपयुक्त अभियान्त्रिकी समाधान पहिचान गरी यथाशीघ्र कार्यान्वयन गर्न पनि केन्द्रिय मन्त्रीसमक्ष आग्रह गरेका छन्। उनले सिक्किमका लागि एनएच-१० को रणनीतिक महत्त्वलाई ध्यानमा राख्दै कार्यान्वयन प्रक्रियालाई शीघ्र अघि बढाउन आवश्यक निर्देशन दिन केन्द्रिय मन्त्री गडकरीसँग अनुरोध गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल