
खरसाङ, 27 जुलाई (हि.स.)। महानदी तीनधारे समष्टिको सिविटारस्थित शारदा प्राथमिक पाठशाला 261 बुथमा आज भारतीय जनता पार्टीको समर्थन कार्यक्रमको आयोजना गरियो। उक्त समर्थन कार्यक्रमको आयोजना सिविटारका मिलन तामाङ र मुकुन तामाङको पहलमा गरिएको थियो।
कार्यक्रममा महानदी तीनधारे मण्डलका सभापति उमेश प्रधान, मण्डलका सचिव दीपराज माझी, दार्जिलिङ जिल्ला मिडिया एवं तीनधारे महानदी मण्डलका प्रभारी चन्दन प्रसाद, मण्डलका उप सभापति सुरेन बम्जन, मण्डलका कन्भेनर योगेन्द्र छेत्री, महिला मोर्चा मण्डलका अध्यक्ष सुनिता खाती आदिको उपस्थिति रहेको थियो।
यस समर्थन कार्यक्रममा सिविटारको 261 बुथको 6 वटा गाउँका जम्मा 40 परिवार भारतीय प्रजातान्त्रिक मोर्चा पार्टी छोडेर भारतीय जनता पार्टीमा औपचारिक रूपमा सामेल भए। यस समर्थन कार्यक्रममा महानदी ग्राम पञ्चायतका पञ्चायत प्रधान सोनिका तामाङ र उप प्रधान राजीव तामाङ पनि उपस्थित रहेका थिए।
यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले पश्चिम बंगालमा सरकार परिवर्तनपछि मानिसहरू खुलेर भाजपालाई सघाउने निर्णय गरेको बताए। यस समर्थनले महानदी तीनधारे क्षेत्रमा पार्टीको संगठन अझ बलियो हुनुका साथै विकासमुखी गतिविधिलाई पनि गति मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक