
खरसाङ, 27 जुलाई (हि.स.)। तीनधारे महानदी समष्टिको नयाँ कमान युथ क्लबद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ। गत 2 जूनदेखि शुरू भएको प्रतियोगितामा जम्मा 40 वटा टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको फाइनल खेल आज युनाइटेड एफसी दार्जिलिङ र हिमाली युवा संघ सिलगढीबीच भयो। अत्यन्त रोमाञ्चक खेलमा गणेश लिम्बूको ह्याट्रिकले युनाइटेड एफसी दार्जिलिङ प्रतियोगिताको च्याम्पियन बन्न सफल बन्यो। उत्कृष्ट प्रदर्शनका लागि गणेश लिम्बूले ‘म्यान अफ द म्याच’ साथै ‘म्यान अफ द टुर्नामेन्ट’ को पुरस्कार प्राप्त गरे। त्यसैगरी भवेश मुखियाले ‘बेस्ट गोलकिपर’ र सुब्रोतो साइबोले ‘बेस्ट डिफेन्डर’ को उपाधि प्राप्त गरेका छन्।
फाइनल खेल अघि रोहिणी एफसी भेटरन र नयाँ कमान एफसी भेटरनबीच आयोजित च्यारिटी म्याचमा नयाँ कमान एफसी भेटरेन विजयी बनेको थियो। समापन समारोहमा तीनधारे–महानदी समष्टिको 2 नम्बर बस्तीका खेलाडी गणेश लिम्बू र नयाँ कमान चियाबारीका कवि मिलन प्रधानलाई आयोजक समितिको तर्फबाट सम्मान गरियो।
प्रतियोगिताको विजेता टोली युनाइटेड एफसी दार्जिलिङलाई ट्रफीसहित नगद तीस हजार प्रदान गरियो भने उप विजेता हिमाली युवा संघ, सिलगढीलाई पनि ट्रफीसहित नगद पुरस्कार बीस हजार प्रदान गरियो।
हिन्दुस्थान समाचार / हनोक