खरसाङमा संयुक्त रुपमा शहीद दिवस समारोह आयोजित, शहीदका परिवारहरुलाई सम्मान
खरसाङमा शहीद दिवस पालन


- शहीदलाई लिएर हामी राजनीति गर्दैनौं, शहीदहरुको बलिदान हाम्रो मनमा छ: सोनाम लामा

खरसाङ, 27 जुलाई (हि.स.)। खरसाङको नयाँ बजारस्थित इगल क्र्यागस्थित शहीद वेदीमा शहीद दिवस पालन गरियो। शहीद दिवस समारोह समितिको तत्वावधानमा कार्यक्रमको आयोजना भारतीय जनता पार्टी र यसका गठबन्धन दलहरुले संयुक्त रुपमा गरेको थियो।

कार्यक्रमको अध्यक्षता खरसाङका विधायक एवं शहीद दिवस समारोह आयोजक समितिका सभापति सोनाम लामाले गरेको। विधायक लामाले शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेपछि उपस्थित अन्य अतिथिहरुले पनि श्रद्धाञ्जली अर्पण गरे। यसैगरी, विभिन्न धर्मका धर्म गुरुहरुले शहीदहरुका लागि प्रार्थना गरेका थिए।

कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरुले आफ्नो प्रस्तुति दिए भने खरसाङ महाविद्यालय र सन्त अल्फन्सेस विद्यालयका विद्यार्थीहरुले ब्याण्ड प्रस्तुति दिएका थिए। कार्यक्रममा खरसाङ महकुमा क्षेत्रका गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका 66 जना शहीदरूका परिवारहरुलाई आयोजक समितिको तर्फबाट सम्मान जनाइयो। सबैलाई विधायक लामा र अन्य अतिथिहरुको बाहुलीबाट सम्मान जनाइयो।

शहीद दिवस समारोह आयोजक समितिका सह सचिव भुषण देवानले आफ्नो सम्बोधनमा 1986 को गोर्खाल्याण्ड आन्दोलनमाथि विस्तृत जानकारी गराए। उनले आफ्नो सम्बोधनमा भने, 'आजको दिन शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नु मात्रै होइन, तर शहीदहरुको सपना साकार पार्नु पनि हाम्रो कर्तव्य र उत्तरदायित्व हो। हामी सबैजना जाति र माटोको लागि एक हुन आवश्यक छ।'

उनले जेन्जी युवाहरुलाई सम्बोधन गर्दै भने, जेन्जी युवाहरु पनि जाति र माटोको लागि एकबद्ध भएर अघि बढ्नुपर्छ। युवाहरुले राजनैतिक चेतना लिएर काम गर्नुपर्छ।' हामी हाम्रो लक्ष्यमा पुगे मात्र शहीदहरुको सपना साकार हुनेछ।'

कार्यक्रमका सभाध्यक्ष लामाले शहीदहरूलाई लिएर हामी राजनीति गर्दैनौं, शहीदहरुको बलिदान हाम्रो मनमा छ भनी बताए। उनले शहीद वेदीको जीर्णोद्धार गरेर ठूलो बनाउने घोषणा गर्दै आफु राजनीतिदेखि माथि उठेर काम गर्ने बताए।

विधायक लामाले भने, 'केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ र गोर्खाहरुको सपना साकार हुने समय आएको छ। तर, दुई महिनामा केही हुँदैन। यत्रो 40 वर्ष त केही भएन, हामी आएको केवल 2 महिना भयो र विस्तारै सबै कामहरु पूरा हुँदै जानेछ।'

उनले अघि भने, 'हामी सबैजना एकबद्ध भएर अघि बढ्नुपर्छ। जातिको लागि काम गर्नुपर्छ। राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande