

इम्फाल, 27 जुलाई (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलले इम्फाल पूर्वी जिल्लामा संयुक्त कारबाहीमा 29 वटा हतियार, ठूलो मात्रामा गोलाबारुद र विस्फोटक सामग्री जफत गरेका छन्। यसैबीच चुराचन्दपुर जिल्लामा छुट्टै कारबाहीका क्रममा एक जना अभियुक्तलाई 2.5 किलोग्राम सन्दिग्ध ब्राउन शुगर सहित पक्राउ गरिएको छ।
आइतवार साँझ 6ः15 बजी वखा चिङ क्षेत्रमा सशस्त्र उपद्रवीहरूको उपस्थितिको विश्वसनीय सूचनामा छैटौँ इन्डिया रिजर्भ बटालियन (आइआरबी) र विशेष कमाण्डो युनिटको टोलीले संयुक्त खोजी अभियान शुरु गरेको पुलिस मुख्यालयले सोमवार एक आधिकारिक विज्ञप्तिमा बताएको छ। अपरेशनको नेतृत्व 6औँ आइआरबीका कमाण्डन्ट तथा विशेष कमाण्डो युनिटका प्रभारी डा. एस. इबोम्चा सिंह (आइपिएस) ले गरेका थिए।
खोजीको क्रममा वाखा हिल स्थित सेलोई लाङमाई कम्पोजिट फार्म अगाड़ी रहेको जङ्गलबाट चार वटा संदिग्ध प्लास्टिकका झोलाहरू जफत भए। यसमा पाँच एसएलआर राइफल, चार इन्सास राइफल, दुई एके एसल्ट राइफल, एक इन्सास एलएमजी, छह वटा .303 राइफल, तीन वटा डबल ब्यारेल बन्दुक, सात वटा सिंगल ब्यारेल बन्दुक र एउटा पम्प एक्सन बन्दुक सहित कूल 29 वटा हतियार फेला पऱ्यो।
यसबाहेक एक लाथोड बम, .303 राइफलको 530 जिउँदो कारतूस, 7.62 एसएलआरको 64 राउन्ड, इन्सासको 19 राउन्ड, 5.56 कार्बाइनको छह राउन्ड, 40 ड्रिल राउन्ड र .303 राइफलका 17 वटा चार्जर पनि जफत गरिएको छ। यस क्षेत्रमा खोजी अभियान चलिरहेको पुलिसले जानकारी गराएको छ।
अर्को कारबाहीमा मणिपुर पुलिसले चुराचन्दपुर जिल्लाको तुइबोङ क्षेत्रबाट लेटमिन्टगुङ हाओलाई (33) लाई पक्राउ गरेको छ। 2.5 किलोग्राम संदिग्ध ब्राउन शुगर र दुई चक्के सवारी जफत गरिएको छ। घटनाको थप अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी