
कोलकाता, 28 जुलाई (हि.स.)। उत्तर 24 परगना जिल्लाको नीलगञ्ज थानास्थित नारायणपुरमा मङ्गलवार बिहान पुलिसद्वारा जफत गरिएको गोदाममा राखिएका पटाकाहरूमा अचानक आगो लागेको कारणले भयानक विस्फोट भयो। शृङ्खलाबद्ध रूपमा भएको विस्फोटबाट सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको दमकलका दुई वटा वाहनले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो।
पुलिस अनुसार केही दिनअघि नीलगञ्ज पुलिस चौकीले अभियान सञ्चालन गरी प्रचुर मात्रामा अवैध पटाका अनि बारूद जफत गरेको थियो। स्थानीय मानिसहरूले आरोप लगाे, जफत गरिएका विस्फोटकहरूलाई नियमानुसार नष्ट गर्नको सट्टा एउटा गोदाममा राखिएको थियो। यति मात्र नभएर गोदाम बाहिर एउटा ड्रममा पनि बारूद राखिएको थियो।
मङ्गलवार बिहान अचानक गोदाममा आगो लाग्यो जसपश्चात एकपछि अर्को गर्दै पटाका पड़्किन थाल्यो। तीव्र विस्फोट अनि कालो धुँवाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचायो।
भनिन्छ, विस्फोटकहरू राखिएको गोदाममा माथिल्लो तलामा एउटा परिवार बस्छ। विस्फोटको आवाज सुन्नसाथ परिवारका सबै सदस्यहरू सुरक्षित बाहिर निस्किए। निरन्तर भइरहेको विस्फोटदेखि डराएर वरपरका मानिसहरू पनि आफ्नो घरबाट बाहिरिए।
घटनापछि क्षेत्रमा भारी तनाउ फैलिएको छ। स्थानीय मानिसहरूले जनघनत्व भएको क्षेत्रमा यति धेरै मात्रामा विस्फोटक सामग्री राखेकोमा पुलिसको भूमिकामाथि प्रश्न उठाएका छन्। मानिसहरूको भनाइ छ, जफत गरिएका विस्फोटकहरूलाई सुरक्षित रूपमा नष्ट गरिनुपर्थ्यो।
हाल आगलागीको कारण पत्तो लागेको छैन। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा