
गान्तोक, 28 जुलाई (हि.स.)। समाज कल्याण विभाग, सोरेङ जिल्लाद्वारा २७ जुलाई, २०२६ का दिन सरकारी वरिष्ठ माध्यमिक विद्यालय, गेलिङमा नशा मुक्त भारत अभियान तथा राष्ट्रिय छात्रवृत्ति पोर्टल सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरियो।
कार्यक्रमको शुभारम्भ वरिष्ठ कल्याण अधिकारी प्रतिभा तामाङले गर्दै आफ्नो स्वागत सम्बोधनमा कार्यक्रमको उद्देश्यबारे जानकारी गराइन्।
स्रोत व्यक्तिका रूपमा उपस्थित नयाबजार पुलिस थानाका सहायक उपनिरीक्षक वीर बहादुर खातीले नशा मुक्त भारत अभियान सम्बन्धी जनचेतनामूलक सत्र सञ्चालन गर्दै लागूऔषध दुव्र्यसनका हानिकारक प्रभावबारे जानकारी गराए। उनले विद्यार्थीहरूलाई स्वस्थ, अनुशासित तथा लागूऔषधमुक्त जीवनशैली अपनाउन प्रेरित गरे।
त्यसैगरी, ड्रग सफाई अभियानकी अध्यक्ष कुमारी माझी, माझी गाउँले बालबालिका तथा युवाहरूमा बढ्दो लागूऔषध दुव्र्यसनको जोखिमबारे महत्वपूर्ण जानकारी दिँदै सही तथा जिम्मेवार निर्णय लिन विद्यार्थीहरूलाई प्रेरित गरिन्।
कार्यक्रम अन्तर्गत राष्ट्रिय छात्रवृत्ति पोर्टल सम्बन्धी जनचेतनामूलक सत्र पनि सञ्चालन गरियो। कल्याण निरीक्षक तथा जिल्ला नोडल अधिकारी ज्योष्णा राईले छात्रवृत्तिका अवसरहरू, योग्यता मापदण्ड तथा अनलाइन आवेदन प्रक्रियाबारे विस्तृत प्रस्तुति दिइन्।
विद्यालयका प्रधानाध्यापकले पनि आफ्नो बहुमूल्य मन्तव्य राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरू विद्यार्थी तथा समुदायका लागि अत्यन्त लाभदायक हुने उल्लेख गर्दै समाज कल्याण विभागको यस पहलको प्रशंसा गरे।
उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष, पञ्चायत सदस्यहरू, गेलिङ जीपीयूका आशा कार्यकर्ताहरू, आङ्गनवाडी कार्यकर्ताहरू, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल