
खरसाङ, 28 जुलाई (हि.स.)। लङ्भ्यू श्रमिक अनशनको आज 96 दिन पुगेको छ। अहिलेसम्म अनशन शुरु भएदेखि 1 करोड़ 28 लाख रुपियाँ हाजिरा अनि वेतनको पैसा जम्मा गरिएको छ। कमानका मालिकलाई 5 दिनको हिरासतमा पठाइएको छ भने पीएफको पैसा भुक्तानी भने अहिलेसम्म भएको छैन।
लङ्भ्यू कमानमा सोमवार महकुमा शासक खरसाङको अगुवाइमा लङ्भ्यू भेलाकुप सार्वजनिक भवनमा सर्व ट्रेड युनियनको मिटिङ डाकिएको थियो। उक्त मिटिङमा खरसाङका विधायक सोनाम लामा पनि उपस्थित थिए। उनको अगुवाइमा सम्पन्न बैठकको मुख्य उद्देश्य मालिकलाई जेल हालिएको हुनाले साथै सरकारले लङ्भ्यू कमानका श्रमिकहरूको निम्ति काम गर्ने आश्वासन दिएर अनशन उठाउने आग्रह गर्नु थियो।
तर, श्रमिकहरूले सामूहिक रूपमा कुनै ठोस निर्णयबिना साथै पैसा भुक्तानी नभई केवल आश्वासनको भरमा अनशन तोड्न नसकिने निर्णय लिए। यसपछि, उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। श्रमिकहरूले कमानका मालिकको नियतमाथि अविश्वास व्यक्त गर्दै अनशन जारी राख्ने निर्णय लिएका छन्।
अर्कातिर, अनशन स्थलमा जारी ७२ घण्टाको 15औं चरणको भोक हड्ताल मंगलबार समाप्त भएको छ भने 3 जनाको श्रमिक टोलीले मंगलवारदेखि 16औं चरणको ७२ घण्टे अनशन शुरु गरेका छन्। श्रमिकहरूका अनुसार, जुन दिन मालिकले पीएफको पैसा ईपीएफओ अफिसमा जम्मा गरिदिने छन्, त्यस दिन अनशन आफैं उठिहाल्नेछ। लङ्भ्यू चिया बगानका श्रमिकहरूले १२ करोड़ रुपियाँ पीएफ, ८४ लाख रुपियाँ ग्रेच्युटी, २० लाख रुपियाँ एलटीए र बाँकी रहेको हाजिरा र वेतनसहितको भुक्तानीको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।
स्मरण रहोस्, एक जना अनशनकारी श्रमिक मिना लकान्द्री हस्पताल भर्ती भएकी छन्। स्वास्थ्यकर्मीहरूले अनशनरतहरूको नियमित स्वास्थ्य जाँच गरिरहेका छन् र आवश्यक उपचार र अनुगमन गरिरहेका छन्। प्रदर्शनकारीहरूले सम्बन्धित पक्षहरूलाई आफ्ना जायज मागहरूलाई तुरुन्तै सम्बोधन साथै समाधान गर्न आग्रह गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक