हिमालयन प्लान्टेसन वर्कर्स युनियनको नेहुर बालासन चियाबारीमा गेट मिटिङ
हिमालयन प्लान्टेसन वर्कर्स युनियनद्वारा नेहुर बालासन चियाबारीमा गेट मिटिङ


सोनादा, 29 जुलाई (हि.स.)। हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्यु) केन्द्रिय समितिको निर्देशनअनुसार चियाबारी श्रमिकहरूको विभिन्न जायज मागहरूलाई अघि बढाउने उद्देश्यले विभिन्न चियाबारीहरूमा गेट मिटिङ अभियान शुरु गरिएको छ। यसै अभियानअन्तर्गत बुधवार बिहान नेहुर बालासन युनियनको बालासन शाखाको आयोजनामा गेट मिटिङ सम्पन्न भयो।

कार्यक्रममा चियाबारी श्रमिकहरूको हक, अधिकार, सेवा सुविधा तथा श्रमसम्बन्धी विभिन्न समस्यामाथि विस्तृत छलफल गरियो। कार्यक्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ शाखाका उपाध्यक्ष शुरेन मोक्तान (जोजो) तथा एचपीडब्ल्यु बालासन शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उनीहरूले श्रमिकहरूका विभिन्न मागलाई व्यवस्थापन पक्षसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समस्याको शीघ्र समाधान गर्न आग्रह गरेका थिए। गेट मिटिङको अन्त्यमा श्रमिकहरूको माग समेटिएको ज्ञापन पत्र चियाबारी व्यवस्थापन पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ।

युनियनले आगामी दिनहरूमा पनि चियाबारी श्रमिकहरूको हकहित, सम्मानजनक पारिश्रमिक, सामाजिक सुरक्षा तथा अन्य श्रमसम्बन्धी मागहरूको सम्बोधनका लागि विभिन्न चियाबारीहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande