मिसेस इण्डिया इन्टरनेशनल 2026 को उपाधि जित्नेकी प्रेरणा लामालाई खरसाङमा स्वागत
प्रेरणा लामा


भविष्यमा देशलाई प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय स्तरको मञ्चमा पुग्ने सपना छ: प्रेरणा लामा

खरसाङ, 29 जुलाई (हि.स.)। नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित स्पार्क मिसेस इण्डिया इन्टरनेशनल 2026 प्रतियोगिताको उपाधि लिएर फर्किएकी खरसाङकी छोरी प्रेरणा लामालाई खरसाङमा स्वागत जनाइएको छ। उनी गत 26 जुलाईका दिन दिल्लीमा आयोजित स्पार्क मिसेस इण्डिया इन्टरनेशनल 2026 मा भाग लिएर बुधवार खरसाङ फर्केकी हुन्।

खरसाङमा स्वागत जनाइएपछि प्रेस क्लब अफ् खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै प्रेरणा लामाले मिसेस इण्डिया इन्टरनेशनलको उपाधि जितेर आउँदा आफुलाई खुशी लागेको बताइन्। उनले सानो शहर खरसाङको मन्टिभियट खेल मैदानबाट आफ्नो यात्रा शुरु गरेको र दिल्लीमा मिसेस इण्डिया इन्टरनेशनलको उपाधि जित्न पाएकोमा परिवार र सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

उनले भविष्यमा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय स्तरको मञ्चमा पुग्ने सपना रहेको बताएकी छन्। प्रेरणा लामा दार्जिलिङ जिल्लाको रंगबुल (ओलुङ दाँडा) निवासी पवन छेत्रीकी धर्मपत्नी हुन्। उनी खरसाङको देवपुराटोल, मन्टभिट निवासी विद्या लामा र कमल लामाकी सुपुत्री हुन्।

उनले आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतिष्ठित उपाधि जितेर दार्जिलिङ, खरसाङ तथा सम्पूर्ण नेपालीभाषी समुदायलाई गौरवान्वित बनाएकी छन्। उनले यस अघि पनि धेरैवटा उपाधिहरु जित्नुका साथै विभिन्न मञ्चहरुमा भाग लिइसकेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande