
सोनादा, 29 जुलाई (हि.स.)। सोनादा डिग्री कलेजमा भारतीय दार्शनिक अनुसन्धान परिषदद्वारा प्रायोजित अन्तरराष्ट्रिय योग दिवसका अवसरमा मानसिक शान्तिको उपचारका रूपमा योग विषयक विशेष वार्ता कार्यक्रम कलेजको प्रेक्षागृहमा प्राचार्य डा योगेश खातीको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा उत्तर बङ्गाल विश्वविद्यालयका शिक्षा विभागका प्रमुख डा. रूपनार दत्ताले ‘आन्तरिक शान्तिको संरचना: भारतीय ज्ञान प्रणालीको शब्दावलीमार्फत मन व्यवस्थापनको रहस्योद्घाटन’ विषयमा मुख्य व्याख्यान प्रस्तुत गरेका थिए। कार्यक्रममा डा. रूपनार दत्ताले आफ्नो व्याख्यानमा भारतीय ज्ञान प्रणालीको व्यवस्थित एवम् गहन ढाँचामार्फत मानव चेतना र मनको समन्वय विषयलाई प्रष्ट पारेका थिए।
उनले व्याख्यानमा योग केवल मानसिक तनाव घटाउने माध्यमका रूपमा मात्र नभई आन्तरिक शान्ति र मानसिक सन्तुलन निर्माण गर्ने सक्रिय, व्यावहारिक तथा प्रयोगात्मक प्रविधिका रूपमा पनि गरिने कुरो बताए। व्याख्यानका क्रममा बुद्धि र मनको द्वैध संरचनामाथि प्रकाश पार्दै विवेकशील बुद्धिले आवेगशील मनलाई कसरी नियन्त्रण र मार्गदर्शन गर्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै मानसिक तनाव कसरी मनोवैज्ञानिक अतिचिन्तन आधिबाट विकसित हुँदै शारीरिक रोग व्याधिको अवस्थामा पुग्न सक्छ भन्ने प्रक्रियामाथि पनि चर्चा गरेका थिए।
विशेषतः प्राणायाम, ध्यान तथा अन्य व्यावहारिक योगिक अभ्यासहरूका माध्यमबाट मानसिक स्पष्टता, आत्मसन्तुलन र दीर्घकालीन आन्तरिक शान्तिको अवस्था अर्थात् सत्त्व गुण कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक दृष्टिकोण डा रुपनार दत्तले प्रस्तुत गरेका थिए।
यस महत्वपुर्ण वार्ता आयोजनाको लागि शिक्षाशास्त्र विभाग र कलेजको आन्तरिक गुणवत्ता मूल्याङ्कन समिति लगायत भारतीय दार्शनिक अनुसन्धान परिषद्प्रति कलेजका प्राचार्य डा योगेश खाती आभार प्रकट गरे। कार्यक्रमको सफलताको सहभागी हुने सबैलाई कलेजका आईक्युएसीका संयोजिका तथा दर्शनशास्त्र विभागकी उप प्राध्यापिका पेञ्चुला भोटियाले धन्यवाद ज्ञापन गरेकी थिइन्।
हिन्दुस्थान समाचार / हनोक