
खरसाङ, 30 जुलाई (हि.स.)। प्रतिष्ठित नाट्य संस्था जागृति परिवार, खरसाङले आफ्नो 54 औँ स्थापना दिवस पालन गरेको छ।गोर्खा जन पुस्तकालय भवनमा आयोजित यस समारोहको अध्यक्षता परिवारका सभापति लक्ष्मण गुरुङले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ नाटककार साथै जागृति परिवारका संस्थापक स्वर्ण सदस्य पूर्ण गुरुङ निरुपम अनि विशिष्ट आतिथिको रूपमा पूर्व सभापति साथै स्वर्ण सदस्य खेमराज राई उपस्थित थिए।
परिवारका वरिष्ठ सदस्य साथै सहसचिव प्रणाम प्रधानद्वारा सञ्चालित समारोहको आरम्भमा संस्थापक दिवङ्गत सदस्यगणको स्मृतिमा दुई मिनट मौन प्रार्थना गरियो। परिवारका सदस्य र शुभचिन्तकगणको उपस्थितिमा सम्पन्न समारोहलाई सम्बोधन गर्दै विशिष्ट अतिथि खेमराज राईले कुनै पनि संस्थाले स्वर्ण जयन्ती पालन गर्नु ठूलो उपलब्धि रहेको बताए। उनले परिवारको स्थापना अवधि साथै पछिका दिनहरूमा घटेका घटनाहरु साझा गरे अनि परिवारका कर्मठ साथै सक्रिय सदस्यहरुको प्रयासले जागृति परिवारले यो रुप पाएको बताए।
प्रमुख अतिथि पूर्ण गुरुङ निरुपमले आफ्नो सम्बोधनमा परिवारको जागृति परिवारले नाटकको क्षेत्रमा गरेका कार्यहरुको उल्लेख गर्दै वर्तमानमा नाटकको अवस्था, इतिहास साथै सिद्धान्त सन्दर्भमा विस्तृतरुपमा प्रकाश पारे। उनले नाटक विधाको श्रीवृद्धिको निम्ति कलाकारहरुलाई अघि आउनेश आह्वान गरे। यस अवसरमा रङ्गमञ्चिय नाटक सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / हनोक