
गान्तोक, 30 जुलाई (हि.स.)। सिक्किम ब्याडमिन्टन सङ्घ (बीएएस) ले आफ्ना सदस्य कर्मा ला शेर्पालाई ब्याडमिन्टन इन्डिया टेक्निकल अफिसियल्स एसोसिएसन (बीआईटीओए) को २०२६-३० कार्यकालका लागि संयुक्त सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना दिएको छ। बीएएसले उनको यस प्रतिष्ठित पदमा निर्वाचन हुनु देशभरका प्राविधिक अधिकारीहरूले उनीमाथि व्यक्त गरेको विश्वास र भरोसाको प्रतीक रहेको बताएको छ।
बीएएस अध्यक्ष जेकब खालिङले आज जारी प्रेस विज्ञप्तिमा भने, 'सिक्किमका गौरव तथा ग्रेड-१ राष्ट्रिय प्राविधिक अधिकारी शेर्पाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनेकौँ ब्याडमिन्टन प्रतियोगिताहरूमा उत्कृष्ट प्राविधिक अधिकारीका रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै उच्च सम्मान हासिल गर्नुभएको छ। उहाँको समर्पण, व्यापक अनुभव तथा दूरदर्शी नेतृत्वले भारतमा ब्याडमिन्टन खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै राष्ट्रिय स्तरमा सिक्किमको ब्याडमिन्टनलाई अझ उच्च पहिचान र गौरव दिलाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।'उनले यस उल्लेखनीय उपलब्धिका लागि शेर्पालाई बधाई दिँदै आगामी कार्यकाल सफल, फलदायी तथा प्रभावकारी रहोस् भन्ने हाम्रो हार्दिक शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल