
खरसाङ, 30 जुलाई (हि.स.)। नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित स्पार्क मिसेस इण्डिया इन्टरनेशनल 2026 प्रतियोगिताको उपाधि खरसाङकी संगीता थापाले जितेकी छन्। खरसाङको मन्टिभियट रोड, गड्डी लाइन निवासी संगीता थापाले गत 26 जुलाईको दिन दिल्लीमा आयोजित स्पार्क मिसेस इण्डिया इन्टरनेशनल 2026 मा भाग लिएकी थिइन्।
खरसाङस्थित आफ्नो घर फर्केकी थापाले उपाधि जितेर आउँदा आफुलाई खुशी लागेको बताउँदै दिल्ली पुगेर आफ्नो खरसाङको प्रतिनिधित्व गर्न र उपाधि जित्न सफल भनेकोमा परिवार र सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। उनले भविष्यमा मौका पाएको खण्डमा देशलाई प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योजना रहेको बताइन्।
उनले मिसेस ईण्डिया इन्टरनेशनलको उपाधिसितै भारत आईकन अवार्ड्स पनि जितेकी छन्, जुन मोडेल अफ् दी ईयर पनि हो। थापाले मिसेस इण्डिया इन्टरनेशनलको उपाधिसितै ट्रफी, क्राउन, प्रमाण पत्र, उपहार र एक लाख रुपियाँ नगदराशि पनि प्राप्त गरेकी छन्। यस प्रतियोगितामा जम्मा 50 जनाले भाग लिएका थिए, जसमा उनी विजेता बनेकी छन्।
संगीता थापा स्व हेमन्त थापाकी धर्मपत्नी हुन्। उनले योभन्दा अघि मिसेस ईस्ट इण्डिया 2023 मा सब टाईटल फेशन आइकन उपाधि जितेकी थिइन् भने एसआर मोडेलिङ बेंगाल इण्डिया सिलगढीमा बेस्ट ट्यालेन्ट र विनर अफ् द डाइरेक्टर चोइस 2024 अनि नर्थ ईस्ट इण्डिया गुवाहाटी असममा पनि 2024 मा विजेता बनेकी थिइन्।
---------------
हिन्दुस्थान समाचार / हनोक