
कोलकाता, 30 जुलाई (हि.स.)। सल्ट लेकको एई ब्लकस्थित एउटा घरभित्र बिहीवार बिहान पति-पत्नीको शव भेटिएको घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। मृतकहरूको पहिचान सजल कुमार कुण्डु र उनकी पत्नी रञ्जनाको रूपमा भएको छ।
पुलिस अनुसार प्रारम्भिक जाँचमा थाहा लागेको छ, गए बुधवार दम्पत्तिका छोरा-बुहारी उल्टाडाङ्गास्थित आफ्नो ससुरालीमा गएका थिए। सोही राती लगभग दश बजे उसको माता-पितासित फोनमा बातचित भएको थियो। बिहीवार बिहान उसले फेरि फोन गर्दा दुवैको मोबाइल बन्द थियो। त्यसपछि उसले छिमेकीसित सम्पर्क गऱ्यो।
घरको ढोका भित्रबाटै बन्द थियो। छोरासित रहेको अर्को चाबीले घरको ढोका खोलियो जहाँ कोठाभित्र दम्पत्तिको शव देखियो।
प्रारम्भिक जाँचमा कोठाबाट विषको एउटा बोतल भेटिएको छ। यसै आधारमा पुलिसले प्रारम्भिक रूपमा अनुमान लगाएको छ, दम्पत्तिले विषपान गरेर आत्महत्या गरेको हुनसक्छ। तथापि जाँच अधिकारीहरू पोस्टमर्टम रिपोर्ट हात लाग्नअघि मृत्युको कारणमाथि टिप्पणी गर्नदेखि बचिरहेका छन्।
पुलिसले बतायो, घटनास्थलबाट कुनै सुसाइड नोट भेटिएको छैन। मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा