
कालेबुङ, 30 जुलाई (हि.स.)। अनित थापाको नेतृत्वमा रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई छोडेर जीटीएका ११ जना निर्वाचित सभासदहरु भारतीय जनता पार्टीमा सामेल भएका छन्। यसलाई पहाडको राजनीतिमा अनित थापा नेतृत्वको रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई ठूलो राजनीतिक झट्का बताइएको छ।
दार्जिलिङ र कालेबुङ गरी जीटीएका ११ जना निर्वाचित सभासदहरू बिहीवार भारतीय जनता पार्टीमा आधिकारिक रूपमा प्रवेश गरेका छन्। भाजपामा सामेल हुने सबै सभासदहरूलाई कालेबुङमा आयोजित एक समर्थन कार्यक्रममा कालेबुङका विधायक भरत छेत्री र भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा पार्टीमा स्वागत गर्दै भाजपाको झण्डा प्रदान गरियो।
भाजपामा प्रवेश गरेका सभासदहरूले पहाडको समग्र विकास र क्षेत्रको स्थायी राजनीतिक समाधानका लागि आफूहरू भाजपामा आबद्ध भएको बताएका छन्। भाजपामा सामेल हुने सभासदहरुमा टुंग सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा, लक्पा नाम्ग्याल भोटिया, सन्दीप छेत्रीसहित ११ जना जीटीएका सभासदहरु सामेल रहेका छन्।
खरसाङ एक सभासद लक्पा नाम्ग्याल भोटियाले हाम्रो दीर्घकालीन समस्याको समाधान भाजपा अनि भाजपा सरकारले नै पूरा गर्ने पहल गरिरहेको देखेर नै हामीले आज भाजपालाई समर्थन जनाएका हौं भनी बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक