अप्पर कोलथाङमा ९ परिवारले पाए एसजीएवाई घर
एसजीएवाई घर उद्घाटन


नाम्ची, 30 जुलाई (हि.स.)। अप्पर कोलथाङमा सिक्किम गरिब आवास योजना (एसजीएवाई) अन्तर्गत निर्माण सम्पन्न भएका ९ वटा नयाँ घरहरूको आज उद्घाटन तथा चाबी हस्तान्तरण समारोह हर्षोल्लासका साथ सम्पन्न भएको छ।

स्थानीय अबी चन्द्र शर्माको निवासमा आयोजित कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा क्षेत्र विधायक थापाले निर्माण सम्पन्न भएका एसजीएवाई आवासहरूको चाबी ९ लाभग्राही परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गरिन्। यससँगै सुरक्षित र स्थायी घरको लामो समयदेखिको सपना ती परिवारहरूको साकार भएको छ।

यस अवसरमा अबी चन्द्र शर्माको निवासमा प्रतीकात्मक गृहप्रवेश समारोह पनि सम्पन्न गरिएको थियो। लाभग्राही परिवारहरूले नयाँ घर प्राप्त गरेपछि आफ्नो जीवनमा सुरक्षा, स्थायित्व तथा जीवनस्तरमा उल्लेखनीय सुधार आएको भन्दै राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गरे।

लाभग्राहीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व तथा जनकल्याणप्रतिको अटल प्रतिबद्धताको प्रशंसा गर्दै सुरक्षित, सम्मानजनक र स्थायी आवासको सुविधा उपलब्ध गराउने सिक्किम गरिब आवास योजना कार्यान्वयन गरेकोमा राज्य सरकारप्रति कृतज्ञता व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande