
पाकिम, 31 जुलाई (हि.स.)। पाकिमकी जिल्लापाल परी बिश्नोईको निर्देशनअनुसार शुक्रवार पाकिमका महकुमा अधिकारी एनके भण्डारीले पाकिम-रोड़ाथाङ र रम्फू-रोड़ाथाङ सड़कहरूमा वर्षाका कारण भएको क्षतिको आकलन गर्न संयुक्त निरीक्षण गरेका छन्।
निरीक्षण टोलीमा आरओ/एडी पाकिम किरण छेत्री र डीपीओ टीआर छेत्री सामेल थिए। पाकिम-रोड़ाथाङ सड़कको तोरीबारीमा भाँसिएको सड़क खण्डबाट निरीक्षण शुरु भयो, जहाँ टोलीले जारी बर्खायामबाट भएको क्षतिको मूल्याङ्कन गर्यो।
टोलीले पछि किटगोलाइको भ्रमण गर्यो, जहाँ प्रभावित सड़क खण्डको पुनर्स्थापना र मर्मतसम्भारबारे राष्ट्रिय राजमार्ग तथा अवसंरचना विकास निगम लिमिटेड (एनएचआईडीसीएल)-का प्रतिनिधिहरूसँग छलफल गर्यो। निरीक्षणको क्रममा सुरक्षित र निर्बाध सवारी साधन आवागमन सुनिश्चित गर्न तत्काल मरम्मतसम्भार उपायहरू गर्न एनएचआईडीसीएललाई निर्देशन दिइएको थियो, जसमा एग्रीगेटहरू बिछ्याउने काम पनि समावेश छ।
निरीक्षणले जुभेन्टस हेल्थकेयर लिमिटेडको तीन माइल, भस्मे, रम्फूमा रहेको भाँसिएको सड़क खण्डहरूलाई थप समेट्यो। टोलीले ग्रेफका कमाण्डर सुनील कुमार र ग्रेफका अधिकारीहरूसँग यात्रु सुरक्षा बढ़ाउने उपायमाथि छलफल गर्यो। छलफलहरू प्रभावित खण्डलाई पुनर्स्थापना र सुदृढ़ीकरण गर्न सड़क चौड़ा गर्ने र भर्ने काममा पनि केन्द्रित थिए।
टोलीले रम्फू-रोड़ाथाङ सड़कको छेउमा रहेको चमेरे भीरमा निरीक्षण सम्पन्न गर्यो, जहाँ ठूला ढुङ्गाले यात्रुहरूलाई सम्भावित जोखिम निम्त्याउँछन्। टोलीले प्रभावित खण्डको द्रुत सफाइ र सड़क प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न उपयुक्त उपायहरू अपनाउने सम्बन्धमा ग्रेफ अधिकारीहरूसँग छलफल गर्यो।
---------------
हिन्दुस्थान समाचार / बिशाल