
खरसाङ, 06 जुलाई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) तीनधारे महानदी समष्टिको तीनधारे चिया बगान प्राथमिक पाठशाला भवनमा आज एक संगठनात्मक सभा सम्पन्न भएको छ। गोर्खा राष्ट्रिय युवा मोर्चाका सभापति संग्राम घतानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठन विस्तार तथा पार्टी सुदृढीकरणतर्फ महत्वपूर्ण निर्णयहरू गरेको छ।
सभामा 30 घर परिवारहरु विभिन्न राजनीतिक दल तथा सामाजिक पृष्ठभूमिबाट गोरामुमोमा प्रवेश गरेको बताइएको छ। यसैगरी, 15 परिवारले घरवापसी गर्दै पुनः पार्टीमा आबद्ध भएको दाबी गरिएको छ।
सभाले तीनधारे चिया बगानमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यका साथ 25 सदस्यीय तीनधारे चिया बगान शाखा समिति सर्वसम्मतिले गठन गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्ष संग्राम घताने, उप सभापति बिदान तामाङ र रेसप तामाङ, सचिव मिलन राई, सहसचिव इसमाल नाक कोषाध्यक्ष विजय पाहन, प्रमुख सल्लाहकारहरू सन्जीव गुरुङ, सपन राई, विशाल तामाङ र सन्जय तामाङ आदि सामेल छन्।
अध्यक्ष संग्राम घतानेले नवनिर्वाचित शाखा समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले पार्टीको अनुशासन, एकता र समर्पणलाई सर्वोपरि राखेर जनताको सेवामा समर्पित हुन आग्रह गरे। उनले पार्टी अध्यक्ष मन घिसिङको नेतृत्वलाई अझ सुदृढ बनाउन सबै कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
समष्टिका अध्यक्ष जेबी गुरुङले संगठनलाई गाउँ-गाउँसम्म विस्तार गर्दै पार्टीलाई अझ सशक्त बनाउने अभियानमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / हनोक