
गान्तोक, 06 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको एक महत्वपूर्ण संगठनात्मक बैठक आज नाम्ची जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रमेश किरतको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा नाम्ची जिल्लाका सबै विधानसभा क्षेत्रका प्रतिनिधिहरू, साथै पार्टीका विभिन्न मोर्चा संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो।
बैठकमा तृणमूल स्तरमा पार्टी संगठनलाई सुदृढ पार्ने बारेमा विस्तृत छलफल गरियो भने सबै निर्वाचन क्षेत्रहरूमा संगठनात्मक संरचनाहरू स्थापना र सुदृढ गर्ने निर्णय गरियो। गाउँ र स्थानीय समुदायमा रहेका एसडीएफ समर्थकहरू पार्टी सत्तामा फर्कने उत्सुकताका साथ पर्खिरहेका छन् भन्ने कुरामा जोड दिइयो। त्यसैले पार्टी कार्यकर्ताहरूलाई समाजको हरेक वर्गमा पुग्न र अविलम्ब संगठनात्मक गतिविधिहरूलाई तीव्र बनाउन आग्रह गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा एसकेएम सरकार सत्तामा आएदेखि ग्रामीण क्षेत्रका मानिसहरूले कठिनाई र उपेक्षाको सामना गर्नु परिरहेको, बिजुली, पिउने पानी र सडक पूर्वाधार जस्ता आवश्यक सेवाहरू अपर्याप्त रहेको, एसकेएम सरकारप्रति राज्यभरि जनअसन्तुष्टि बढ्दो रहेको आदि जस्ता विषयहरूमाथि चर्चा गरिएको जनाइएको छ।
बैठकले एसडीएफ नाम्ची जिल्लाकी उपाध्यक्ष कृष्णा तामाङलाई पार्टीको श्रम मोर्चाको अतिरिक्त जिम्मेवारी सुम्पिएको उल्लेख छ। बैठकलाई जिल्ला अध्यक्ष रमेश किरात लगायत कृष्ण छेत्री, प्रकाश कुमार राई, तिलक माया राई, पीके राईले पनि सम्बोधन गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल