
खरसाङ, 07 जुलाई (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेको रेलवे स्टेशनमुन्तिर रहेको पुरानो अस्पताल क्षेत्रमा पैह्रो गएको छ। उक्त पैह्रो रेलवे लिक र राष्ट्रिय राजमार्ग 110 मा पुगेको छ। साथै, पैह्रोको चपेटमा एउटा रेलवे क्वार्टर परेर जोखिमपूर्ण अवस्था सृजना भएको छ।
पैह्रोले रेलवे सेवा वाधित बनेको छ। राष्ट्रिय राजमार्ग 110 मा पुगेको पैह्रो सफा गरेर गाडीहरुको आवागमन सुनिश्चित गरिएको छ। उक्त पैह्रोको चपेटमा परेर दुईवटा रूखहरु ढल्ने अवस्थामा रहेको बताइएको छ। पैह्रोले ती दुईवटा रुखहरु तानेको खण्डमा यातायात अवरुद्ध हुनसक्ने बताइएको छ।
भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको अनुसूचित जातिका सभापति एवं घैयाबारी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य अजय विश्वकर्म र भाजपा मण्डल उप सभापति सागर दासले पैह्रोको निरीक्षण भ्रमण गरेका छन्। अजय विश्वकर्माले पैह्रोबारे रेलवे र एनएचआईडीसीएललाई सूचित गरेको बताए।
उल्लेखनीय छ, तीनधारे क्षेत्र पैह्रो र प्राकृतिक आपदाको लागि अत्यन्त जोखिमपूर्ण ठाउॅं हुनाले स्थानीयहरु यस बर्खा झरीको समय चनाखो साथै सुरक्षित रहन आवश्यक छ।
हिन्दुस्थान समाचार / हनोक