
गान्तोक, 08 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको निर्देशनमा प्रदेश महासचिव दिनेश नेपालको नेतृत्वमा एक पार्टी प्रतिनिधिमण्डलले आज तुमिन-लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत मिडल लिङ्गी, सुम्सी, मैदाम, अप्पर लिङ्गी र छेउछाउका गाउँहरूको पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गर्यो। भ्रमणको उद्देश्य हालैको प्राकृतिक प्रकोपबाट भएको क्षतिको मूल्याङ्कन गर्नु र प्रभावित बासिन्दाहरूसँग अन्तरक्रिया गर्नु रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डललाई ३ जुलाई, २०२६ मा भाजपा सिक्किमले गरेको भ्रमण र अपीलपछि पीएमजीएसवाई र पीडब्ल्यूडी अन्तर्गत सम्बन्धित अधिकारीहरूले सडक सम्पर्क पुनर्स्थापित गर्न विभिन्न स्थानहरूमा छवटा जेसीबी परिचालन गरेको जानकारी गराइयो। प्रतिनिधिमण्डलले यस विकासको स्वागत गर्दै प्रभावित परिवारहरूलाई आवश्यक राहत प्रदान गर्न पुनर्स्थापना कार्यलाई तीव्रता दिइने आशा व्यक्त गरेको छ।
आपदाको दश दिन बितिसक्दा पनि जिल्ला प्रशासनका कुनै पनि वरिष्ठ अधिकारीले उनीहरूको कठिनाइको मूल्याङ्कन गर्न वा आश्वासन दिन क्षेत्रको भ्रमण नगेको भन्दै स्थानीय मानिसहरूले निशारा व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। सुक्खा खोलामा सडक बन्द भएकाले सुम्सी-मैदाम क्षेत्रका बासिन्दाहरूले गम्भीर कठिनाइको सामना गरिरहेको र यो महत्त्वपूर्ण सडकलाई चाँडोभन्दा चाँडो पुन: खोल्न पुनर्स्थापना कार्यलाई तीव्र बनाउन अपील गरेको बताइएको छ।
भाजपा प्रतिनिधिमण्डलले डॉंडाखर्का र अप्पर लिङ्गीको राहत शिविरमा बसोबास गरिरहेका परिवारहरूलाई आवश्यक राहत सामग्रीहरू वितरण गर्यो। साथै, प्रभावित परिवारहरूलाई भाजपा सिक्किमले सामान्य अवस्था पुनर्स्थापित नभएसम्म सम्बन्धित अधिकारीहरू समक्ष आफ्नो चिन्ता उठाइरहने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल